वरिष्ठ साहित्यकार दामोदर पुडासैनीलाई साहित्य चेतना पुरस्कार प्रदान गरिने

चेतना संरक्षण प्रतिष्ठान नेपालले वि.सं. २०७७ सालको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी रु. १,०१,०००/–(एक लाख एक हजार) र सम्मान रहेको कुरा प्रतिष्ठानले जनाएको छ । वरिष्ठ साहित्यकार पुडासैनीका हिमालका आवाज, समयको सहीछाप, सहर बिनाको सहर, पहाड र प्रेम, आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, उज्यालो खोजिरहेको घाम जस्ता कवितासङ्ग्रहहरू, यात्राका प्रेमिल तरङ्गहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग र पर्खालभित्रको राजधानी जस्ता नियात्रासङ्ग्रहहरू र धर्मको ह्याङ्गओभर जस्ता दर्शन विधाका कृतिहरू आम पाठकले निकै रुचाएका छन् । विश्वका झण्डै तीन दर्जन मुलुक तथा नेपालका ७६ जिल्ला भ्रमण गरिसकेका पुडासैनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दर्जनौ पुरस्कार प्राप्त गरिसकेका छन् । पुडासैनीकै विभिन्न कृतिहरूमा केन्द्रित भएर विश्वविद्यालयका दर्जनौ उच्च तहका विद्यार्थीहरूले शोध प्रबन्ध तयार गरेका छन् । समाजेसेवी हरिभक्त सिटौलाद्वारा आफ्नो बुबाआमाको नाममा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा २०७७ माघ २४ गते बिराटनगरमा विशेष समारोहका साथ समर्पण गरिने व्यहोरा एक विज्ञप्तिमा प्रतिष्ठानले जनाएको छ ।
सोही अवसरमा बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार डा. विणा पौडेललाई, आमेप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार मदन राईलाई, नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार मोहन दुवाललाई, भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार माया पौडेललाई र केदार मञ्जु सत्याल वाल चेतना पुरस्कार प्रिन्सा रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको कुरा पनि चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षले बताउनु भएको छ । ती सबै पुरस्कारको राशी एकाउन्न हजार रहेको व्यहोरा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, ललितकला, समाजसेवा, सनातन मानवीय धर्म–संस्कृति, पत्रकारिता लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका पाँचदर्जनभन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत र सम्मानित गरि डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेको व्यहोरा पनि अध्यक्ष गंगा सुवेदीले जनाउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्