एकै गाउँबाट तीन करोडको सुन्तला बिक्री

दमौली । तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गर्नुभएको छ । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताउनुभयो ।

“सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो, “सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।” रानाले एउटा बगैँचाबाट रु १५ लाख र अर्को बगैँचाबाट रु सात लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । “सुन्तला बिक्रीका लागि समस्या छैन”, उहाँले भन्नुभयो ।

स्थानीयवासी कर्णसिं गुरुङले रु १८ लाख, नवराज गुरुङले रु १५ लाख, रामबहादुर रानाले रु १२ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । “सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस ठाउँबाट मात्रै करीब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।

देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।”

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ”, उहाँले भन्नुभयो, “१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।” तिवारीका अनुसार यस वर्ष करीब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्