संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् ।

कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी प्रधानमन्त्रीलाई सभापति देउवाले गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा निकट एक नेताले भने, ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे छलफल भएको थियो ।’ तर हाल आएर एकतर्फी रूपमा सत्ता पक्षले नियुक्तिमा अडान लिएकाले भागबन्डा नमिल्दा देउवा बैठकमा नजाने भएको जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले अख्तियार तथा निर्वाचन अयोगमा आयुक्त दिनुपर्ने अडान लिएको छ । यसैगरी अन्य निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने कांग्रेसको अडान छ । सत्तारूढ दल नेकपाभित्र किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिसँग निरन्तर भेट्दै संवैधानिक नियुक्तिका लागि छलफल गर्दै आइरहेका छन् । त्यही सिलसिलामा शुक्रबार पनि अनौपचारिक भेटवार्ता भएको थियो । चरणगत छलफलपछि रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट नेता रमेश लेखकलाई जिम्मा दिइएको थियो ।

कांग्रेसका तर्फबाट छलफलको जिम्मेवारी पाएका नेता लेखकले भने भागबन्डा नमिलेकाले नभई पूर्वनिर्धारित पार्टी कार्यक्रमका कारण सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइएको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्