हिउँभन्दा उज्यालो मन

-दामोदर पुडासैनी किशोर

आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ ।

उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू । समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुङ्गियो । अब पारिको गाडीबाट जानुहोस्, हाम्रो यहीँसम्म हो’— कन्डक्टर कुर्लिए । आआफ्ना सिरिखुरी बोकेर पन्ध्र मिनेट ठाडो उकालो र पाँच मिनेट ओरालो गोरेटो कुदेपछि मात्र बल्ल भेटियो हामीलाई लिन गएको गाडी ।
हामी झोला झ्याम्टा बोकेर अघि अघि कुद्यौँ । मधुजीलाई लेक लाग्यो अलि अलि । ग्वाम्लाङ्ग अनुहार छोपेर स्यानो झोला बोक्दै उकालो चढिरहनुभयो उहाँ । ‘हजुरको अनुहार त क्षणमै बच्चा जस्तो, क्षणमै तरुनो जस्तो, क्षणमै वृद्ध जस्तो देखिन्छ’— के हो यसको राज ? हाँस्नुभयो अर्का मित्र । ‘उहाँमा रूप परिवर्तन गर्ने जादुई क्षमता छ क्या’— मैले जवाफ फर्काएँ । उहाँ फिस्स हाँस्नुभयो मात्र । सायद लेक लागेको असर ताजै थियो । हामीअघिल्तिर केहीबेर अघिसम्म कालो देखिइरहेको पहाड सुनौला बनेर घामसँग छिल्लिँदै थियो । उः त्यो पहाड जस्तै हो मधुजी पनि’ मैले भनेँ । उहाँको मुस्कानले होला पहाड झन् गुलाबी देखिन थाल्यो । साइँसुइँ सुइँ गर्दै बहेको वायुले छरिरहेछ अनन्त सङ्गीत पहाडका कित्ता कित्तामा । बिच बिचमा पैदल यात्रा गर्नुपर्ने भएकाले यातायात समितिले नै गाडीको बन्दोबस्त गरेको रहेछ । भारतीय सीमाबाट पचासौँ ठाउँमा पल्टी गर्दै सिमेन्ट पाल्पा पुगेझैँ गाडी भेट्दा, उक्लँदा ओर्लदां र सिट ओगट्दा ठुलै विजयको भान पर्दो रहेछ यात्रुलाई ।
त्यहाँ दुई गाडी थिए । तीमध्ये कुनले हामीलाई लैजाने भन्नेमा चालकहरू बिच निकैबेर रडाको मच्चियो ।
‘मेरो पालोमा तिमीलाई किन पठायो समितिले ?’
‘मलाई जा भन्यो समितिले, म आएँ, पेसिन्जर मै लैजान्छु ।’
एक घण्टा गलफती गरेपछि बल्ल एउटा गाडीमा हामीलाई राखियो । गाडी गुडेपछि सबै यात्रुहरूमा खुसी त फैलियो तर त्यो धेरै बेर टिक्न सकेन । करिब बिस मिनेटको यात्रापछि गाडी एउटा घरअघिल्तिर रोकियो । रोकिनाको कारण गाडी कसले पहिला लैजाने भन्ने विवाद नै थियो ।
बायाँतिर एउटा पसल छ । केही मान्छेहरू पसल अघिल्तिर बेन्चमा बसेर गफ र हाँसो गरिरहेछन् । चार जनाले एउटा भेडो खुइल्याउँदैछन् । घर दुईमात्र छन् । नाउँ भने ‘भेना गाउँ’ रहेछ । अरू घर तल माथि कतै देखिएन । फुस्रा पडाडहरू, पानीविनाका खोल्सीहरू र कहालीलाग्दा भिरहरूमा न कुनै जीवको चहलपहल छ न कुनै वनस्पतिको बाहुल्यता । कता कता धुपीका ठुटे बुच्काहरू देख्दा त्यो शुष्कतामा कसरी बाँचे होलान् तिनीहरू भन्ने लागिरह्यो ।
तिनीहरूले भेडालाई पुरै खुइल्याइसके । आन्द्रा भुँडी झिकेर फाले । सिङ्गो भेडाका चार खुट्टामा लठ्ठी छिराएर उने र ढुङ्गामाथि लगेर सुकाइदिए । त्यसरी राखेको मासु पाँच छ महिनासम्म बिग्रिदैन भने एक जनाले । बिचरा भेडाले, मारिएपछि पनि महिनौँ छुरी र खुकुरीको प्रहारमा परिरहनुपर्ने भयो । जिन्दगीभरि भारी बोक्यो होला त्यसले । कयौँ कुटाई खायो होला । कयौँ झम्टाइबाट जोगियो होला, कति पटक रमायो होला हिमाली चुचुराहरूका वल्लो ढिस्को र पल्लो भञ्ज्याङमा बुरुक् बुरुक् उफ्रिन पाउँदा । कि सोच्यो होला— ‘यी मान्छेहरू किन यति हतार र हतासमा छन्, किन दौडेका छन्, के के न जितुँला झैँ गरेर, किन मौका मिलेको बेलामा मान्छेलाई नै सताउँछ मान्छेले ।’ उसलाई लाग्दो हो— मान्छे आपूm स्वतन्त्र छु भनेर घमन्ड गर्छ तर मान्छे जत्तिको बन्धनमा, मान्छे जत्तिको पीडामा, मान्छे जत्तिको भ्रममा कहाँ छन् अरू जनावरहरू । बरु भेडो हुनुमै आनन्द छ, न जात र धर्मको लेखाजोखा, न इहलोक र परलोकका अनावश्यक भ्रम, न हुँदै नहुने पुनर्जन्म र अदृश्य ईश्वरका मनगढन्ते कल्पना । मान्छे बाठो र बुद्धिमानी भएको बहानामा भेडाको सारा संसार, स्वतन्त्रता र सिर्जनालाई नास गरिदिएको छ ।
बाठो भएको भ्रममा प्रकृतिका असङ्ख्य स्वतन्त्रताहरूलाई मान्छेले नष्ट गरेको मलाई पटक्कै मन पर्दैन ।
छालाहीन भेडो नाङ्गो ढुङ्गाको पिठ्युँमा श्वास नफेरेरै सबैलाई हेरे झैँ गर्दैछ । उसलाई खुइल्याउनेहरू उसैलाई व्यङ्ग्य गरेर नानाभाँतीका गफ चुटिरहेछन् ।
‘यसलाई तेल मसला हालेर भुटभाट पारेर खाने हो भने म एक घण्टामै सिद्याइदिन्छु’ – एक आवाज ।
बिजुली पानीसँग खाने हो भने आधा घण्टामै सिनित्त पारिदिन्छु म’ — अर्को आवाज ।
‘ए कान्छी दिन्छ्यौ ? दस हजार दिन्छु म’— लाहुरे जस्ताको अर्को आवाज ।
‘दिन्नँ म एकै चोटि त । एक पाउ मासु देखाउँदै, सबैलाई लोभ्याउँदै, होटल चलाउँदै गर्नुपर्छ क्या’– साहुनी बहिनीको शृङ्गारिक जवाफ ।
बिचरा भेडो ! कति कठिनपूर्वक जन्मियो यो संसारमा, कति गारोसँग हुर्कियो यो धर्तीमा । उसको आवाजले ब्युँझन्थे टाढा टाढासम्मका डाँडाकाँडा । च्वाट्ट काटिदिए मान्छेहरूले । उसका पीडाहरूलाई हाँसोको रूपमा लिए मान्छेहरूले । मान्छेकै लागि मारिएपछि पनि उपहास बनिरहेछ मान्छेबाटै । हुन त भारी बोक्ने, औजार बनाउने, कारखानामा काम गर्ने मान्छेलाई नै, काम नगर्ने मान्छेहरूले हेप्ने, पेल्ने र ठेल्ने समाजमा, असहाय जनावरको मर्का कसले बुझ्ला र ? सक्ने भए सोच्दथ्यो होला भेडाले ।
रित्तो गाडी र हामीलाई बोकेर लैजाने गाडीका चालक बिच भेनामा झगडा भइरह्यो । हामीले होटल साहुनीलाई खाना बनाइदिन आग्रह ग¥यौँ । बहिनीले पन्ध्र मिनेटमै आलु, टिमुर अचार, दाल, भात खुवाइन् । खानाको प्रति व्यक्ति रु. दुई सय मात्र । त्यति विकट ठाउँमा त्यो निकै सस्तो हो । यात्रामा हिँड्दा खानेकुराहरू भेटेको ठाउँमा खाइहाल्नु राम्रो हुन्छ । आपूmले लगेको खानेकुरा बचेकै बेस ।
मध्य दिन ढल्कँदैछ । भेनाबाट अझ उकालो लाग्दैछौँ ।
‘लोमन्थाङ जाने बाटोमध्ये सबैभन्दा बढी उचाइ यतै पर्छ ।’ गाडी चालकले सूचित गरे । ‘त्यस्तै चार हजार पाँच सय मिटरभन्दा पनि बढी ।’ उनले उचाइ भनेपछि टाउको थिचथाच पार्न पो थाले एक सहयात्रीले । अर्का भाइले त सुरु गरिहाले उल्टी गर्न । हामी पनि त्यो पीडामा फसिने हो कि भन्ने आशङ्का पसिरहेछ मनको एक कुनामा । मन कमजोर पारियो भने लेक लाग्न बेर लाग्दैन भन्नेमा हामी छलफल गर्छौँ । हाम्रा चुट्किला र गफले अरू यात्रीहरू पनि भुल्छन् । त्यसपछि बिस्तारै लेक लागेको व्यथा पनि मत्थर हुँदै जान्छ सबैको । सडकको उचाइ कम हुँदै गएकाले पनि सजिलो भएको छ लेकको असर खप्न ।
विचित्र छ संसार । दृश्यहरू बिलकुल नवीन छन् । निलो आकाश नीर मिसिए झैँ चम्किइरहेछ । आँखाको डिसले भ्याएसम्मको संसार नाङ्गो भुतुङ्गो र फुस्रो छ । दक्षिणतिर उठिरहेका नीलगिरि र तिलिचो निस्क्लेश छन् । निर्मोही झैँ लमतन्न सुतेको छ पूर्वमा दामोदर हिमाल शृङ्खला । श्वेत स्तुप बनेका छन् हिमगिरि । तिनीहरूको उदाङ्ग कलेवर लमलस्ट लाग्दैन । अनुभूतिहरू रङ्ग बनेर ओर्लन्छन् डाँडाका टुप्पाहरूमा, भिराला बगरहरूमा र ठाडा चट्टानहरूमा खोपिएका आदिम गुफाहरूमा ।
ती हिमाच्छादित र नाङ्गा पहाड र मैदानहरूलाई प्रेमिल गन्तव्य बनाउन सक्ने हो भने ओइरो लाग्थ्यो होला विश्वभरका प्रेमी प्रेमिकाको । हिमनदीहरू थुनेर हिमताल बनाइयोस् । हिमफुलहरू सजाएर हिमज्योति बालियोस् । हिमोट जोडेर अचम्मका बनाइयून् शिलावृक्षहरू । निस्फिक्री चर्न छोडियून् हिमपशु र हिमचराचुरुङ्गीहरू । त्यसै माझमा बनाइयून् प्रेमका नवीन बुकुराहरू । अनि पो मेला लाग्थ्यो प्रेम पारखीहरूको । प्रेमका केस्रा केस्रा नङ्ग्याइँदै जीवनोच्च आनन्दमा हराउँथे उनीहरू, त्यो एकान्तमा ।
उचिता पहाडलाई त्यसै गरेको भेटेँथे मैले अमेरिकामा ।
बाटाको परवाह नै नगरी गाडी हाँक्ने गुरुहरू भेटेँ मैले त्यस रुटमा । ढुङ्गा, माटो, अग्लो, होचो, भिर, खाल्टो, खोलो जे जस्तोलाई सम्म मैदान नै मानेर गाडी घुइँक्याइरहेछन् गुरुजीहरू । जीवन हाँक्नु जस्तै हो गाडी हाँक्नु पनि । कहिलेकहीँ जोखिम मोलेरै भए पनि अगाडि नबढी सुख्खै छैन । धेरै जस्तो ठाउँमा धन्न बाँचियो ठान्छ मनले र सिरिङ्ग बनिसकेपछि आत्तिन्छ । नाङ्गो धरातल तर बेग्लै आकृति देखेपछि डर र आशङ्काहरू बिर्सिदिन्छ मनले । त्यो नै आनन्द बनेर उदाउँछ यात्रामा ।
नाङ्गा तर रङ्गीन छन् पहाडहरू । शुष्क तर कलात्मक छन् बगरहरू । पत्रैपत्रका राता चट्टानहरू बादल बुट्टामा छन् । जसले जे मन लाग्यो त्यही देख्न पाउँछ त्यहाँ । गोरा चट्टानहरू, अँध्यारा चट्टानहरू र निला चट्टानहरू संवेदना शून्य बनेर सुतिरहेछन् । थुम्काहरू केशरी जस्ता, अबिर जस्ता, चन्दन जस्ता, खोस्टा नङ्ग्याएका मकैका रास जस्ता, आँगनमा बिस्कुन सुकाउन ठिक्क पारिएको धानको चुली जस्ता, कोदाको रास जस्ता देखिन्छन् जतासुकै । प्रकृतिको यति सुन्दर कला ख्वै कसले पारख गर्ला र पूर्ण रूपमा ! प्रकृति जति बुझे पनि बुझीनसकिने चिज हो भन्ने बुझ्छु म ।
पत्थरहरूको मौनताभित्र धेरै छटपटाउँछ मन । त्यो अक्षत धरातलमा खोपूँ र रोपूँमा जागा बनिरहन्छ मन ।
गाडी रफ्तारमा कुदिरहेछ । पहाडहरू जतासुकै नाङ्गा छन् । छर्लङ्ग देखिनु, नाङ्गो छामिनु हो क्यार । देखिनेजत्ति सबै देखिनु, नाङ्गो हुनु हो क्यार । आँखाको दृष्टिले सत्य देखिन मद्दत गर्छ, जिब्राले सत्य स्वादको आस्वादन गर्छ, कानले आवाज अनुभूत गर्छ, छालाले स्पर्श अनुभूत गर्छ, नाकले गन्ध ठम्याउँछ । ज्ञानेन्द्रियहरू नहुँदा हुन् त सत्य अनुभूत हुँदैनथ्यो संसारको । साँच्चै दोस्रो वस्तुले नछोपिएपछि पो सत्य खुल्छ । सत्य नाङ्गो हुन्छ । जीवन पनि त एउटा नाङ्गो क्रम हो । नाङ्गो जीवनलाई ढाकछोप गर्दागर्दै दुःखको भुमरीमा फसिरहेछ मान्छे । नाङ्गो पहाडहरूमा उबडखाबड छन्, मोड, भिर र समस्थलीहरू छन्, रङ्ग र वायुका रसिला सङ्गीतहरू छन् । जीवनलाई यसै अर्थमा बुझ्ने र अप्ठेराहरूलाई सहज र स्वभाविक मानिदिने हो भने दुःखको दलदल भनिरहनुपर्दैन जिन्दगीलाई ।
जन्मने बित्तिकैको नाङ्गो बालकमा कहाँ हुन्छ र निराशा, पीडा र द्वेषको बादल । मुस्काइरहन्छ ऊ निरन्तर । अनवरत यात्रारत घाम हुन् या जून सधैँ नाङ्गै छन्, र पुगेका छन् सधैँ निर्धारित लक्ष्यमा । प्रेमी वा प्रेमिका, प्रेमको पराकाष्ठामा नाङ्गिन्छन् र अनुभूत गर्छन् प्रेमको अन्तिम यथार्थ । अनुभूतिको चरमोत्कर्षमा मान्छेभित्रका सबै बारहरू ढल्छन् गल्र्याम्गुर्लुम् । लाज, सरम, घिन, दुखाइ सबै बढारिन्छन् कोष कोषबाट । खुसीको चरमोत्कर्षमा सबै कुराहरू नाङ्गिन्छन् । नाङ्गो भइसकेपछि कुनै सर्तहरू बाँकी रहँदैनन् ब्रह्माण्डमा । प्रेमी प्रेमिकाको चरम समर्पण, आमा बाबुको छोराछोरीप्रति निःशर्त प्रेम, संसार सञ्चालनको निर्बन्ध नियति, निरातङ्क हुन् सबै सबै । निडरको चरम रूप हो नाङ्गो । नाङ्गिन साहस गर्नेहरू शस्त्रमा विश्वास गर्दैनन् । नाङ्गो नै हुन्छ जन्म, नाङ्गो नै हुन्छ मृत्यु । लोमन्थाङका धराधाम नाङ्गै निराभिमान बाँचिरहेछन्, निरञ्जनको अत्यूत्तम नमुना बाँचिरहेछन् ।
नाङ्गो संसारभित्र फेरि हरियालीले घेरिएको एउटा गाउँ देखियो । अन्यत्रभन्दा अलि छरिबरी छन् घरहरू । शान्ति नै शान्तिको संसारमा नाङ्गो हावा मात्र हुनहुनाएको सुनिन्छ त्यो गाउँमा । तिस पैतिस ओटा काला चौरीहरू मन फुकाएर चरिरहेछन् । हिमाली प्रदेशमा गाउँ भेटिनु आफैँमा एउटा महत्त्वपूर्ण संयोग हुन्छ । अझ एउटा मात्र घर भएकालाई पनि एउटा गाउँ नै भन्नुपर्ने बाध्यता पनि त्यहाँ प्रशस्त हुन्छ । हामीले केहीबेर अघि एउटा मात्र घर भएको ‘याम्ता’ नामको गाउँ देखेका थियौँ । त्यो गाउँको नाम भने ‘स्याङबोचे’ हो भने हाम्रा गुरुजीले तर होटल नीलगिरिको साइनबोर्डमा ‘स्याङ्मोचेन’ लेखिएको देखियो । मलाई भने स्विट्जरल्यान्डको सुन्दर हिमाल मँ ब्लँको फेदीमा रहेको ‘सामोनिक्स’ सहरको याद दियो स्याङ्मोचेनले । स्याङ्मोचेन र सामोनिक्स दुवै उस्तै, दुवै हिमालको फेदमा बसेका । दुवै पर्यटकलाई लोभ्याउन खप्पिस । सामोनिक्समा केबुलकार, चिल्ला सडक र ठुला ठुला होटलहरू पनि छन् । हाम्रो स्याङ्मोचेन भर्खर कोपिला फक्रेको फुल बनेको छ बिचरा । स्याङ्मोचेन र सामोनिक्सलाई मित लगाइदिन पाए कति सुहाउँथ्यो होला सोचेँ मात्र भनिनँ कसैलाई ।
मान्छेहरू मान्छेसँग बढी रमाउने भएर होला त्यतातिर भने अलि नजिकको दूरीमा भेटिएका छन् गाउँहरू । विशाल पठारमा टुपुक्क टुपुक्क टाँसिए जस्ता छन् गाउँहरू । करु र गहुँ, भोटेपिपल र बैँसहरूले गाउँ हरिया भरिला देखिन्छन् । विशाल मरुभूमि बिचमा कत्रो सङ्घर्षले जोगाए होलान् गाउँलेहरूले रुख बिरुवाहरू र कसरी उमारे होलान् अन्नदाना । गाउँलेहरूको जाँगर र कृषिकर्म प्रतिको लगावलाई हृदयदेखि नै प्रशंसा नगरी रहन सक्तैन कसैले पनि । आखिर, यो प्राण धान्न अरू केहीले हुँदैन एक मुठ्ठी अन्न र एक अञ्जुली पानी नै चाहिन्छ ।
त्यतातिरका गाउँहरूलाई अग्ला ढुङ्गे पर्खालहरूले घेर्नु अनिवार्य जस्तै देखियो । साउदी अरेबियामा आफ्ना महिलाहरूलाई छिमेकीहरूले आँखा लगाउलान् भनेर घरभन्दा अग्ला पर्खाल लगाएका प्रशस्त देखेथेँ मैले । मुस्ताङतिर भने बस्तुभाउबाट बालीनाली जोगाउन र निरन्तर बेजोडले बहिरहने निष्ठुरी हावाको वेग घर आँगनमा कम परोस् भन्ने अभिप्रायले गाउँलाई ढुङ्गे पर्खालले छेक्ने चलन रहेछ । ढुङ्गा नै ढुङ्गाको पर्खालले घेरिएका गाउँहरूको जिल्ला हो मुस्ताङ । छोर्तेन, चैत्य, लुङ्दर, बुद्धमन्त्रको बाहुल्यता भएको प्रदेश हो मुस्ताङ । हिउँका दुःखहरूसँग जुधेर, हिउँभन्दा उज्यालो मन बोकेर, बाँच्ने मान्छेहरूको, थलो पनि हो मुस्ताङ ।
उत्तरतिर दामोदर हिमशृङ्खलाहरूमा फनफनी बेरिँदै बिलाउँदै गरिरहेछ बादल । तलतिर बाक्लिएर बसेको छ घिलिङ गाउँ । अलिपर छुङ्कर गाउँ भेटियो । नाम मात्र गाउँवरिपरि अग्ला अग्ला लहरे पिपलका रुखजस्ता सुलुत्त परेका भोटेपिपलका रुखहरू बिचमा जम्माजम्मी तिन घर छन् छुङ्कर गाउँमा । ऐंचोपैंचो, भारोपर्म, रोगव्याध जे परे पनि तिनओटै घरले टार्नुपर्ने बाध्यता । पन्ध्र मिनेट गुडेपछि फेरि अर्को गाउँ फेला प¥यो झैते नामको । त्यहाँ त एउटा घर मात्र छ गाउँको नाममा । ‘एक घर एक गाउँ, हेर्नै परे लोमन्थाङ — मैले बनाइदिएको सूत्रले हँसायो केहीबेर साथीहरूलाई ।
दिउँसो डेढ बजेतिर घमी गाउँ पार गर्दैछौँ हामी । लोमन्थाङ पुग्नुअघिको निकै विशाल र भव्य गाउँ छ घमी । गाउँको माथितिर छुरो माटामा पहेँला पहाडहरू छन् । हिमधाराका घर्षणले होला रेखा, खोल्सा र अनेकौँ आकृतिहरू कुँदिएका छन् पहाडमा । पहाडकै काखमा आमाको खोकिलामा भर्खर ब्युँझेको बालक झैँ चहकिलो छ घमी गाउँ । गाउँका बिच बिचमा ठडिएका छोर्तेनहरूले बुद्धप्रेम झल्काउँदैछ । अनाजका बालाहरू र वायुसँगै बयेली खेलिरहेका बोटहरूले तरङ्ग जन्माइरहेछन् निरन्तर । गाउँको पर परसम्म काला सेता र खैरा भेडा र चौँरीहरू सल्याकसुलुक गर्दैछन् । ढुङ्गाका चेपमा बलात् निस्केका घाँसे बुच्काहरूलाई कोतर्दैछन् तिखा दाँतहरूले । एउटा गोठालो युवक डाँडा नै थर्काउने गरी मस्तले गाइरहेछ । उसको स्वर र लय मात्र मिठो लागेको छ हामीलाई । भाषा नबुझेकाले अर्थ ‘कुन चराको नाम हो ?’ बनिरहेछ ।
गाउँको एक छेउमा ग्लास हाउस बनाइएको छ । ‘यताका मान्छेहरू हरिया तरकारी केलाई खानु, मासु खाए पो बलियो हुन्छ भन्थे; सर, कुहिरेहरू आउन थालेपछि हरियोपरियो खाने र खुवाउनेमा निकै टाठा भएका छन् ।’ गुरुजीले ग्लास हाउसको तरकारीलाई इङ्गित गर्नुभयो ।
मान्छे भेटेपछि मान्छेले राम्रा नराम्रा आनीबानी सिक्छ । राम्रा बानी सिक्नाले सुधारिन्छ मान्छेको जीवन गति ।
बायाँतिर अर्को सुन्दर ढाङ्मर गाउँ देखिन्छ । मान्छेको चहलपहल बाक्लै छ त्यहाँ । हिमाली गाउँहरूमा प्रायः घरबाहिर मान्छेको चहलपहल देखिँदैन । गाउँबाट ढ्याङ्ग्रो ठोकेको आवाज आइरहेछ । एक घर र अर्को घरमा दौडादौड छ । अलि पर सडक छेउमा एउटी युवती ढुङ्गामै टाउको ठोकेर अजारीबजारी गर्दै थिइन् । पाँच सात जना मान्छेहरू उसलाई जोगाउन खोज्दै थिए । थाहा भयो ती युवतीका लोग्ने भिरबाट खसेछन् र जिन्दगीबाट पनि सदाका लागि खसेछन् । निर्लज्ज र नाङ्गो हुन्छ मृत्यु । ऊ कसैको आग्रहलाई मान्दैन । कसैको अवस्था र परिस्थिति ख्याल गर्दैन । तरुनी, बुढो र बालक भन्दैन । त्यस्तो ख्याल गर्न थाल्ने हो भने मृत्युको रूपमा उभिन नै सक्तैन मृत्यु ।
थचार्ने, उफार्ने र हल्लाउने गाडीको चालाले आजित पारिसकेको छ । घन्टौँसम्म मुखमा चारा हाल्न नपाउँदा वायुले बर्बराउन थालिसकेको छ पेट । तै भेनाबाट नै पानी बोकेका थियौँ र ज्यान खरो बन्न पाएको थिएन । स्निकर चकलेट एकेक ओटा पक्याएकाले पनि बहुलाउन पाएको थिएन भोक ।
एउटा रमाइलो भञ्ज्याङ नाघ्नेबित्तिकै चराङ नामको बस्ती देखियो । समरदेखि चराङ पुगुन्जेल सम्ममा अनेकौँ कन्दराहरू र ठाडा डाँडाहरू भेटेका थियौँ । चराङदेखि भने भूस्वरूप अलि बदलिएको थियो । फराकिला नाङ्गा उपत्यका र नाङ्गा भिराला पाखाहरूको खात देखिन थाल्यो । हिमनदीका गाढा धर्साहरू र हिमोटका झुन्ड झुन्डहरूले भूआकृति नै अनुपम कलापूर्ण बनिरहेथे । करिब तिन हजार छ सय मिटर उचाइमा मानव बस्तीको आकार उभ्याएर बसिरहेछ चराङ । एकातिर प्राचीन हिमनदीले बगाएर ल्याएको रोडा ढुङ्गाको विशाल थुप्रो र अर्कातिर सुनौलो र रक्तिम पहाडको बिचमा आमाको काखमा बसेकी बालिका झैँ छिन् चराङ । मरुभूमि बिचको मरुद्यान हो चराङ । बस्तीभरि सल्बलाएका बैंसका रुखहरूले प्रदान गरिरहेछन् उत्साहका तरङ्गहरू । चराङनजिकै पाखामा थाकल काँडाहरू चपाउँदैछन् एक हूल घोडाहरू । त्यो दृश्यले अझ उत्साहित पार्छ । हाम्रो गाडी चराङ भन्ने गाउँमा रोकियो । राताम्य डाँडाहरूको फेदमै रहेछ चराङ गाउँ । सुख्खा बगरको बिचमा बगरकै चिप्ला ढुङ्गाहरू जोडेर बनाइएका छन् घरहरू । ‘दामोदर कुण्ड होटल’— छेउकै होटलको साइनबोर्डमा लेखिएको रहेछ । ‘दामोदर कुण्डसम्म जाने घोडा, पथप्रदर्शक सबै यहाँ पाइन्छ’— लेखिएको थियो त्यस बोर्डमा । होटलको आँगनमा दारी जुँगा पालेका, देख्दै मनीषीजस्ता एक जना बसिरहेका थिए । मान्छे भेटेपछि कुरा हुने भइहाल्यो ।
‘दामोदर कुण्ड पुगेर फर्केको हुँ । यहाँबाट दुई दिनमा पुगिन्छ त्यहाँ ।’
‘कस्तो छ दामोदर कुण्ड ?’
‘शुष्क संसार माझको मिठो सिर्जना । प्रकृतिले मिहिनेतसाथ तयार गरेको अति सुन्दर थलो । फुलहरू फुलिरहेछन्, औषधिहरू हुर्किरहेछन्, सूर्य, चन्द्र र वायु नै लोभिने हिमदृश्यहरू छन् । हिउँको उज्यालो छ, जोसुकैको पनि मनमा उज्यालो छर्ने तागत छ त्यसमा ।’
‘अनि, धर्म ?’
‘धर्म बहाना हो, कठिन मार्गमा हिँडेपछि सुन्दरता प्राप्त हुनु सिद्धि प्राप्त हुनु हो । ज्यान नै खुकुरीको धारमा राखेर हिँडेपछि अनुपम सौन्दर्यको मुस्लो पोल्टामा पाउनु कहाँ चानेचुने कुरा हो र ? कठिनताबाट प्राप्त हुने सौन्दर्यलाई ईश्वर भने मान्छेहरूले । पसिना धारा बगाएपछिको भोकमा एक मुठी अन्न ईश्वर हो, संसारभरका सबै कठिनाइ खपेर पनि प्रेमबाहेक कुनै प्राप्यताको परवाह नगरी प्रेमी र प्रेमिकाप्रति समर्पित भएपछि भेटिने आनन्द ‘ईश्वर’ हो । ईश्वर त छुट्टै केही होइन र हुँदैन पनि । ईश्वर भेट्न होइन सौन्दर्यको पारख गर्न पुगेको हुँ त्यहाँ । कल्पनाको ईश्वर भेट्न कल्पना नै काफी छ, उकालो ओरालो धाउने त प्राकृतिक सौन्दर्यको पारख गर्न हो ।’
‘म चराङमा यसपाली मात्र नौ दिन बसिसकेँ । अझै पन्ध्र दिन बस्छु’— दोलखा लामबगरबाट गएका भिक्षु चराङप्रतिको आशक्ति पोख्नुहुन्छ त्यहीँ ।
‘किन बस्नुहुन्छ यहाँ ? यहीँको गुम्बामा बसेर ध्यान गर्न हो कि ?’ हाम्रो प्रश्न ।
‘होइन, गुम्बामा बसेर ध्यान गर्ने हो भने जहाँ बसे पनि भइहाल्यो नि । यहाँ त खुला आकाशसँग, खुला धरतीसँग, निश्छल मरुभूमिसँग कञ्चन नदीहरूसँग, निर्दोष चराहरूसँग, उन्मुक्त घोडा, खच्चर र चौँरी गाईहरूसँग र राम्रा गुण बोकेका मान्छेहरूसँग निस्फ्रिक्री माया साट्न पाइन्छ र बुझ्न सकिन्छ एक अर्कालाई । त्यसैले हरेक वर्ष चराङ आएर बस्छु म । बौद्ध भिक्षुमा मोह नहुनुपर्ने हो तर प्राकृतिक आकर्षण र मोहले भने कसैलाई बाँकी राख्दो रहेनछ । सन् १९०३ मा इकाई कावागुची नामका जापानी बौद्ध भिक्षु थाक खोला हुँदै गोप्य रूपमा तिब्बत हिँडेका थिए । चराङको मोहनीमा लठ्ठिए र एक वर्षसम्म उनी त्यहीँ बसे । मरुभूमि माझको सुन्दर बगैँचा हो चराङ, काँडा, झाडी र बगरमा फक्रेको सुन्दर फुल हो चराङ । गहिरो तिर्खाको छेउमा भर्खर भेटिएको स्वादिष्ट सर्वत हो चराङ । हामी पनि असाध्यै लोभियौँ चराङसँग । मैले चराङलाई चिमोटेँ, केहीबेर सुमसुम्याइरहेँ उनको अनुहारलाई र साथमै लिएर हिँडे लोमन्थाङतिर । छातीमा बचेका थोरैतिनु समवेदनाहरू पनि फुत्रुक्क ओर्लिए र जमे तिनै पाखाहरूमा, ढुङ्गाहरूमा ।
संसार नै ढाकुँला झैँ डाँडाकाँडा ढाक्दै एक हूल कुहिरो झर्छ, दामोदर हिमालबाट । हाम्रो गाडी चराङबाट कुलेलम ठोक्छ लोमन्थाङतिर । सिधै उत्तरतिर हानिएको छ हाम्रो गति । त्यति अग्ला छैनन् । थुम्का नै थुम्काका थुङ्गा जस्ता छन् पहाडहरू । दिनभर गाडीमा दौडँदा पनि नाङ्गै उभिएकी छे धर्ति । के फरक छ नाङ्गो धर्ति र आमाको नाङ्गो शरीरमा । त्यो नाङ्गोपनमा आशक्ति होइन आस्था जागेर आउँछ, प्रेम होइन, पूजा जागेर आउँछ । तिन वर्षअघि अमेरिकाको एरिजोनाबाट लसभेगाससम्म गाडीमा गएका थियौँ हामी । हामी अर्थात् पारु, म, छोरा प्रवेश र बुहारी सुरुची । दिनभर नाङ्गा पहाडहरूबाट हिँडेका छौँ । सडकहरू फराकिला छन् लसभेगासमा । जङ्गल, घाँसपात र बाली फल्ने खेतबारी छैनन् लसभेगासमा । जुवा खेल्नेहरू खेलिरहेछन्, विद्युतीय प्रकाशका खेलहरू छन्, मस्तीका होटलहरू छन्, विश्वभरका मनोरञ्जन प्रेमीहरूको मेला चलिरहेछ, दिनभन्दा अझ चम्किलो र रमाइलो बनिरहेछ रात । राष्ट्रको कचौरा करले भरिइरहेछ । जाँगर र जुक्ति भयो भने तृणहीन धर्तिले पनि सुनवर्षा गराउँछ भन्ने उच्च उदाहरण देखियो लसभेगास सहर । हाम्रै उपल्लो मुस्ताङमा पनि हिउँकलाले सिँगारेर मनोरञ्जनको थलो बनाउन सकिन्छ, विश्व मानवको ध्यान तान्न सकिन्छ ।
‘भाइहरू कता हिँडेका ?’
‘तिब्बतमा काम गर्न ।’
‘पासपोर्ट, भिसा र काम गर्ने ठाउँ थाहा छ ?’
‘केही थाहा छैन । त्यो सबै भोलि आउने हाम्रो ठेकेदारलाई थाहा छ । काम, दाम र माम प्रशस्त पाइन्छ भनेको छ ।’
‘तिब्बतमा पासपोर्ट, भिसाविना जानेलाई थुनिदिन्छ भन्छन्, समात्यो भने नि ?’
‘त्यो त थाहा छैन, थुनिदियो भने थुनिउँला, खान त दिइहाल्ला, खान पाइयो भने अचानो बन्न पनि डर छैन ।’ एउटा अठार बिस बर्सेको बयान ।
आखिर जीवन धान्न जेल जीवन पनि सहज मान्दो रहेछ मान्छेले । भोकको अघिल्तिर सबथोकले हार्छ यो संसारमा । भोकाएको स्यालले कुहिएको मासु पनि छाड्दैन भनेको त्यही त हो नि ! भोकलाई नतिजा, प्रेमलाई जात, निद्रालाई ओछ्यान चाहिन्न भन्नुहुन्थ्यो हजुरबाले त्यो साँचो ठहरियो त्यहाँ ।
सोरदेखि बाइस वर्षसम्मका सात दङ्गाली भाइहरू हामीसँगै बोलेरोमा सहयात्री बने दिनभर । घरमा पेट, भकारी र घ्याम्पो रित्तै रहेको र स्कुलको मुखसम्म देख्न नपाएको कुरा रुञ्चे अनुहारमा बताए उनीहरूले । मलेसिया, साउदी अरेबिया, कतार मात्र होइन तिब्बतमा पनि सिधासाधा नेपालीहरूलाई काम दिने निहुँमा फसाइने सञ्जाल फिँजिइसकेको रहेछ । अबोध युवाहरूको पलायनले देश झन् झन् जर्जर बन्दै गएको सङ्केत भेटिँदै थियो ती कलिला भाइहरूको अनुहारमा ।
हाँगाहरूबाट कलिला फुलहरू चँुडिदै झर्नु र बिहानको उज्यालो डाक्दै गरेका भुईंचम्पा फुलहरू चुँडेर पर पर कन्दराहरूमा फालिदिनु र अग्नी वर्षीई आकाशमुनि बसे झैँ भयो विदेशिनेहरूलाई देख्दा ।
एक भाइ बाटाको छेउमै लम्पसार लडिरहेछ, अर्को भाइ छेउमै रोइरहेछ । अन्दाजी बिस बाइस जना स्थानीय मान्छेहरू सम्झाउँदैछन् बुझाउँदैछन् ।
लोमन्थाङ पुग्नै आँटेको बेला सडकमै छ एउटा भिड ।
छब्बिस दिनअगाडि एउटा दलालले काम लगाइदिन्छु भनेर तिब्बत पु¥याएछ उनीहरूलाई । दुवै जनासँग एक एक लाख ठगेछ । चीनको सीमाना प्रवेश गर्नेबित्तिकै उनीहरूलाई छलेर दलाल गायब । बिचराहरू रनभुल्ल परेछन् । चिनिया प्रहरीले समातेछ । थुनेछ । राहदानी मागेछ । उनीहरूसँग केही नभएपछि कुटपिट गर्दोरहेछ । एक दिन दुवै भागेछन् जेलबाट । भाषा बुझिँदैन । बाटो थाहा छैन । उनीहरू अँध्याराको जङ्घारमा झैँ हिँडेछन् खानु न खुट्नु भएर । नेपाल पसेपछि बल्ल सन्तोषको श्वास फेरेछन् तर उचाइ र भोक सहन नसकेर एक भाइ ढलेछन् । अर्का भोकभोकै रुँदै रहेछन् । बेहोसमै लडिरहेकाको मुखमा ग्लुकोज हालिदिए एक दाइले । बिस्तारै उठे भाइ । अर्की आमैले दुई रोटी ल्याइदिनुभयो फापरका । कुपुकुपु खाए दुवैले । जे भए पनि आफ्नो देश भनेको आफ्नै हो । हिउँभन्दा सफा र हिउँभन्दा चहकिला मन भएका मान्छेहरू जतासुकै भेटिन्छन् हिमालमा । आफ्नैलाई झुक्याएर दलाली गर्ने, अपहरण गर्ने र बलात्कार गर्नेलाई किन कडा कानुनको कठघरामा हाल्न सकेका छैनौँ हामीले । यो प्रश्न भने प्रबल बनिरह्यो ।
‘वेलकम टु लोमन्थाङ’ लेखेको स्वागत द्वारअघिल्तिर घ्याच्च रोकियो हाम्रो गाडी । भेडाहरूको थामी नसक्नु भिडले ओर्लनै गारो प¥यो हामीलाई । गाडीबाट ओर्लंदा अनुहार विरूपको देखियो । झोलाको धुलो टकटक्याउँदा कुहिरीमण्डल बन्यो वरिपरि ।
‘ए भाइ यहाँको राम्रो होटल कुन हो हँ ?’— गुरुजीलाई सोध्यौँ ।
‘सबले मोनालिसा होटल भन्छन्, त्यतै जानुहोस् न’— गुरुजीको जवाफ । लगेज बोकेर लोमन्थाङ सहर छि¥यौँ हामी । लेक लागेर हो वा थकाइले अलि अलि टाउको दुख्ने र अलि अलि वाकवाक चल्ने क्रम सुरु भएको छ ।
चिसो सिरेटोको दबदबामा कमजोर भेटिएका छन् घामका किरणहरू ।
नाङ्गो घाम र नाङ्गो सिरेटाको युद्ध अझै रोकिने छाँट छैन । लोमन्थाङवासीहरूको बख्खुको बगलीभित्र लुक्न खोज्दैछ घाम ।

होटल मिस्टिक हिमालयन, लोमन्थाङ, मुस्ताङ
२०७१ असार १६ गते, सोमबार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्