विद्यार्थी घटेपछि डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा विद्यालय समायोजन

हरिश चन्द, डडेल्धुरा 
डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधी २०७७ अनुसार कैलापाल प्राथमिक विद्यालय झर्तालाई सहश्रलिङ प्राथमिक विद्यालयमा गाभिएको र पूर्णगिरी प्राथमिक विद्यालय जिलोडालाई असिग्राम प्राथमिक विद्यालय सेलागाउँमा गाभिएको नगरपालिकाले जानकारी दिएको छ ।
यस्तै बालविकास कक्षादेखि ५ कक्षा सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन नपाउने भएका छन् । उनीहरूले अब बालविकास कक्षादेखि ३ को मात्रै पठनपाठन गर्न पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए। जसमा भरर्खरै समायोजन भएको असिग्राम प्राथमिक विद्यालय सेलागाउँ, जनज्येती प्रावि आदित्यपुर, जनसेवा प्रावि डाँडाकोट, असिग्राम प्रावि सुनेडा र शैलेश्वर महादेव प्रावि तिलाडी रहेको शिक्षा शाखा प्रमुख पन्तले बताए ।
यस्तै बालविकास कक्षादेखि कक्षा ४ सम्म रहेको भुमिराज प्रावि ढुन्ढुनेलाई बालविकास कक्षादेखि कक्षा ३ सम्म कायम गरिएको उनले बताए। उक्त कार्यविधीकै आधारमा नगरपालिकाले यसअघि भृकुटी प्रावि खलंगालाई महेन्द्र मावि खलंगामा समायोजन गरिसकेको छ । नगर उपप्रमुख संगिता भण्डारीको संयोजकत्वमा सामुदायिक विद्यालयको दरबन्दी मिलान तथा विद्यालय समायोजन सुझाव समितिले स्थलगत अनुगमन र सरोकारवालाहरुसँगको छलफल पश्चात नगर कार्यपालिकामा बुझाएको प्रतिवेदनका आधारमा सायोजनको निर्णय भएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए । उक्त समितिले समायोजन गरिएका विद्यदालयको पछिल्लो ३ वर्षको विद्यार्थी संख्या सम्बन्धी तथ्यांक विश्लेषण गरेको थियो । साथै कार्यपालिका बैठकले विद्यालयको शिक्षक दरबन्दी मिलानको कार्य तत्काल प्रारम्भ गर्ने तथा दरबन्दी मिलानको कार्य सम्पन्न नहुँदासम्म शिक्षक सरुवा र नियुक्ति सम्बन्धी सम्पूर्ण कार्य रोक्ने निर्णय समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्