प्राकृतिक चिकित्साबाट थालियो कोरोना संक्रमितको उपचार

चितवन- भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

गत आइतबारबाट शुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन । चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन । कोइरालाले भन्नुभयो “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौँ ।” यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिनुभयो । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोइरालाले भन्नुभयो, “कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।” प्राकृतिक चिकित्साविधि अन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ ।

कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षणपछि सङ्क्रमितको अवस्थाकोबारेमा गुनासा भए चिकित्सक सहितको टोलीले सुन्ने जानकारी दिनुभयो । आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन । साँझ प्रार्थना पछि आ-आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७.३० देखि ८ बजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो “त्यहाँ रहनुभएकाहरु निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दानै हामी सन्तुष्ट हुन्छौ ।” चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उहाँका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकीने छ ।

कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उहाँले जानकारी दिनुभयो । पहिलो प्राथमीकता महानगरवासी भएको भन्दै उहाँले आपत परे वाहिरकालाई पनि राखिने जानकारी दिनुभयो । जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ महानगरका छन् ।-नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्