जडीबुटीबाट बनाइएकाे अर्कबटी काेराेना उपचारमा प्रभावकारी भएकाे दाबी

लुम्बिनी- बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक दिन उहाँले आफूले खानाको स्वादै नपाएको भनी घरपरिवारलाई सुनाउनुभयो । उहाँको कुरा सुनेर सबै अचम्मित भए तर बुबा डिआर भने चिन्तित हुनुभयो ।

रुपन्देहीका अग्रज पत्रकार डिआर घिमिरेले इञ्जिनीयरिङ पढ्दै गरेका छोराले खानाको स्वाद नै नआएको भनेपछि कतै कोरोना त भएन भनी उसलाई अर्कबटी खुवाउनुभयो । पत्रकार घिमिरेले भन्नुभयो,‘ खानाको स्वादै थाहा पाएको छैन भन्ने छोराले त अर्कबटी दुई खुराक खानेबित्तिकै खानाको स्वाद आएको बतायो ।’ घिमिरेले कोरोना भाइरसको सङ्क्रमण भएको मान्छेले खानाको स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने जस्ता लक्षण हुने कुरा कतै पढ्नुभएको थियो । सोही आधारमा उहाँले अर्कबटी खुवाउनुभएको थियो । पत्रकार घिमिरे जडीबुटीमा चासो राख्ने हुँदा अर्कबटीका विषयमा पनि जानकार हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘खानाको स्वाद थाहा नपाएको भनेपछि अर्कबटी दुई खुराक खाँदा छोराले बल्ल स्वाद थाहा पाउन थाल्यो । तेस्रो दिनमा पीसीआर चेक गराउँदा कोरोना पोजिटिभ देखियो । अनि लगातार दश दिनसम्म अर्कबटी साँझबिहान खाएर चेक गराउँदा कोरोना नेगेटिभ आयो ।’

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष घिमिरेले आफ्नो छोरालाई मात्रै नभएर कोरोना लक्षण देखिएका छिमेकीलाई पनि अर्कबटी खाँदा लाभदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साथी दीपक पन्थीको परिवारलाई पनि कोरोना पोजेटिभ देखियो । उहाँलाई पनि मैले अर्कबटी प्रयोग गर्न सुझाएँ । त्यो प्रयोग गरेपछि राम्रो भयो । यसैगरी बेलबासमै एक जना म्याडमले खानाको स्वादै आउन छाड्यो भनेपछि उहाँले पनि प्रयोग गर्नुभयो । दुई खुराक खाएपछि स्वादको लक्षण फर्कियो भन्नुभयो ।’
यसैगरी आफूहरुले पनि उक्त औषधि प्रयोग गरेको कोरोना सङ्क्रमित भएर हाल निको हुनुभएका भैरहवाका दुई पत्रकारले बताउनुभयो । ‘अन्नपूर्ण पोष्ट’ भैरहवाका संवाददाता सलमान खानले भन्नुभयो, ‘मैले पनि प्रयोग गरेको हुँ , अर्कबटीले राम्रै गर्यो ।’ ‘इमेज टिभी’का भैरहवा संवाददाता दीपक घिमिरेले पनि आफू सङ्क्रमित भएर होम आइसाेलेसनमा बस्दा अर्कबटी नियमित सेवन गरेको बताउनुभयो । दीपकले भन्नुभयो, ‘अर्कबटी खाए कोराना निको हुन्छ भनेपछि मैले पनि प्रयोग गरेँ । अर्कबटीको नियमित सेवन र नियमित व्यायामले म कोरानालाई जित्न सफल भएको हुँ ।’

आयुर्वेद औषधिका सप्लायर्स छपियाका सम्पद खातीले यतिबेला अर्कबटीको माग बढेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको प्रभावकारितासँगै माग पनि बढेर गएको छ ।’ कोरोना सङ्क्रमण बढ्दै गएका बेला आयुर्वेद क्षेत्रमा २०४८ सालदेखि निरन्तर अनुसन्धानरत चिकित्सक डा बद्री गौतमले अर्कबटी पत्ता लगाउनुभएको हो । डा गौतमका अनुसार सिद्धमकध्वज, स्वर्णभष्म र अन्य पाँच जडीबुटीको मिश्रणबाट अर्कबटी बनाउने गरिन्छ । अर्कबटी बनाउन आवश्यक जडीबुटी नेपालमै पाइन्छ । हाल अर्कबटी नामले परिचित उक्त औषधिको नाम डा गौतमले कोरोनाघ्नबटी प्रस्ताव गर्नुभएको छ ।

कोरोना भाइरस पोजेटिभ पुष्टि भएको वा कोरोनाको लक्षण देखिएमा अर्कबटी प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना पोजेटिभ भएको वा गन्ध थाहा नपाएका अवस्थामा, स्वाद थाहा नपाएका अवस्थामा, ज्वरो आएका अवस्थामा र धेरै थकान लागेका अवस्थामा अर्कबटी १० दिनसम्म निरन्तर सेवन गरेमा निको हुन्छ ।’

होम आइसाेलेसनमा बसेका १३७ जना कोरोना पोजेटिभ देखिएकाहरू उक्त औषधि प्रयोगबाट निको भएको उहाँको जिकिर छ । त्रय्मबकम जडीबुटी सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष डा गौतमले यसअघि सुत्केरीका लागि प्रसूतामृत, प्रतिरोधात्मक क्षमता बढाउने हर्मन फन्ट नामक चिया, गौमूत्रको मिश्रणबाट निर्मित पञ्चगव्य, कपाल झर्न रोक्ने गौंथली तेल, भर्दनन तेल र बलवान् सातुसहित १७ प्रकारका विभिन्न औषधिजन्य उत्पादन बजारमा ल्याउनुभएको छ । तीमध्ये बलवान् सातु नेपाल खाद्य तथा गुण नियन्त्रण कार्यालयले प्रमाणीकरण गरिसकेको खाद्य पदार्थसमेत हो ।

यसैगरी त्रय्मबकम जडीबुटी सहकारी संस्था लिमिटेड रुपन्देहीको छपियामा १४ बिघा क्षेत्रफलमा त्रय्मबकम खर खेतीका रुपमा लगाइएको छ । उक्त खर सुगन्धित तेलको रुपमा प्रयोग हुन्छ । रुपन्देहीमा सहकारीकै लगानीमा स्थानीयवासीको साझेदारीमा जेठीमधु, अश्वगन्धा, चित्रक र गोकुल धुपको पनि खेती भइरहेको छ ।

आयुर्वेदाचार्य डा गौतम २९–३० वर्षदेखि आयुर्वेद क्षेत्रमा निरन्तर लागिरहनुभएका अनुसन्धानकर्ता भएको वरिष्ठ आयुर्वेद चिकित्सक डा प्रीतमकुमार शर्माले बताउनुभयो । तीन दशकभन्दा बढी समय नेपाल सरकारको आयुर्वेद अस्पतालमा सेवा गरेर सेवानिवृत्त डा शर्माले भन्नुभयो, ‘डा गौतम आयुर्वेद क्षेत्रको अनुसन्धानकर्ता हो । उहाँले धेरै किसिमका जडीबुटीजन्य औषधि बनाउनुभएको छ । अर्कबटीका बारेमा मैले पनि सुनेको छु तर प्रयोग गर्न भने अझै पाएको छैन । विगतमा उहाँले बनाएका औषधि हेर्दा यो पनि प्रभावकारी नै होला ’, डा शर्माले भन्नुभयो ।

पत्रकार डिआर सरकारले अर्कबटीका विषयमा तत्काल चासो दिएर स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कतिपय एलोपेथिक खाँदा पनि शतप्रतिशत निको हुन्न तर यो औषधि अत्यन्तै प्रभावकारी भएको मैले अनुभूत गरेको छु । भोगेको छु । यस विषयमा धेरै अलमल नगरी आयुर्वेद काउन्सिल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गम्भीर चासो दिएर सर्वसाधारणले सहजै पाउने गरी व्यवस्थापन गर्नु वर्तमान महामारीको बेला ठूलो उपलब्धि हुन्छ ।-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्