ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना, समुदायस्तरमा सङ्क्रमण फैलिएको विषयमा अध्ययन गरिने

काठमाडौं- सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको विषयमा अध्ययन गर्ने भएको छ ।

सबै समूहका मानिसमा सङ्क्रमण देखिएको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । समुदायमा सङ्क्रमण फैलनु तेस्रो चरण हो ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिनुभयो । अध्ययनका लागि महाशाखाले भोलीसम्म कर्मचारी छनोट गर्ने र उनिहरुलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाइने छ । एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ ।

सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ । महाशाखाका निर्देशक डा पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताउनुभयो ।-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्