भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघ्याे

FILE PHOTO

काठमाडौं– भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा पछिल्लो २० दिनमै १० लाख नयाँ संक्रमित थपिएका हुन् ।

विश्वमै कोरोना बाट बढी प्रभावित अमेरिका र ब्राजिलभन्दा निकै छिटो भारतमा १० लाख नयाँ संक्रमित बढेका हुन् । वितेको २४ घन्टामा विश्वमा सबै भन्दा बढी संक्रमित भारतमा नै थपिएका छन् । भारतमा एकै दिनमा ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित हुनेमा यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । भारतमा पछिल्लो समय कोरोना परीक्षणको दायरा पनि बढाइएको छ । जसले संक्रमितको संख्या बाहिर आइरहेको छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा ४१ हजारभन्दा बढी रहेको छ । विश्वमा कोरोनाबाट बढी प्रभावित अन्य दुई मुलुक अमेरिका र ब्राजिलमा पनि संक्रमण दर बढ्दो क्रममा नै छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ५५ हजारभन्दा बढी नयाँ संक्रमित थपिए । यो सँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख २८ हजार नाघेको छ । कोरोनाकै कारण अमेरिकामा हालसम्म १ लाख ६२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसै गरी ब्राजिलमा पनि कोरोनाबाट संक्रमित हुनेको संख्या २९ लाख १७ हजार नाघेको छ । यसै गरी मृत्यु हुनेको संख्या ९८ हजारभन्दा बढी छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै ५५ हजार नयाँ संक्रमित थपिएका हुन् । विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ६७ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका हुन् । विश्वमा कुल संक्रमितको संख्या १ करोड ९२ लाख नाघेको छ । यसै गरी हालसम्म विश्वमा ७ लाख १६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्