सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट यसै वर्ष बिजुली आउने

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माणधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षभित्रै बिजुुली आउने भएको छ ।

सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ लमजुङमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको आयोजनाले २०७८ असारमा निर्माण सकेर विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य अघि बढाएको छ । हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।
उहाँका अनुसार इलेक्ट्रोमेकानिकलतर्फ ६५ प्रतिशत काम सकिएको छ । इन्टेक, हेडबक्स, टनेल, पावर हाउसको निर्माण कार्य भइरहेको बताए । कोरोना भाइरस
(कोभिड–१९) सङ्क्रमणका कारण लकडाउन भएपछि चार महिना आयोजनाको काम प्रभावित भएको थियो । सामान ढुवानीमा समस्या भएको थियो । अहिले केही सामान ल्याएर काम थालिएको उनले बताए ।

अहिले केही सहज छ तर पनि ठूला–ठूला सामान ल्याउन नसकिएको उनले बताए । उनका अनुसार चैतबाट नदी क्षेत्रको काम गर्नुपर्ने थियो । सामान नभएपछि काम गर्न नसकिएको र नदीलाई फर्काउन पनि नसकिएकाले केही समय काम रोकिएको बताए ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठका अनुसार आयोजनाको २०७५ सालभित्रै व्यावसायिक उत्पादन मिति (आरसीओडी) रहेको थियो । भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीले काममा ढिलाइ भएको भएको हो । २०७७ को असार महिनामा सकिने अनुमान गरिएकोमा नेपाल विद्युत् प्राधिकरणको उदिपुर–भरतपुर २२० केभीको प्रसारण लाइन र उदिपुरमा सबस्टेसन निर्माण नहुँदा निर्माण कार्य लम्बिँदै आएको र लकडाउनले गर्दा झनै समय लम्बिएको बताए ।

गत वर्ष साउन ८ गतेको भीषण बाढीपहिरोले आयोजनाको संरचनामा क्षति पु¥याएको थियो । मूल सुरुङ पाँच किलोमिटर रहने आयोजना आठ अर्ब रुपियाँभन्दा बढी लागतमा निर्माण हुन लागेको हो । आयोजनाको निर्माण अवधि लम्बिँदा करिब ५० करोड रुपियाँ बढ्ने अनुमान गरिएको छ । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गरिरहेको छ । आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजना प्रमुख अर्जुन गौतमले बताए । दोर्दी गाउँपालिका–७, ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दी खोलामा निर्माणाधीन उक्त आयोजना २०७१ फागुन २० गते नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा चार रुपियाँ ८० पैसा र बर्खायाममा आठ रुपियाँ ४० पैसामा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्