जब यौनका लागि मुड हुन्न, यसरी हुन्छ दम्पतिबीच खटपट सुरु

सबै दम्पतीको यौन जीवन सुखद र आनन्ददायक हुँदैन । यौन क्रियामा समान सहभागिता पनि हुँँदैन । एक जनाको इच्छा अनुसार पार्टनरले साथ दिनुपर्ने हुन्छ । श्रीमान वा श्रीमतीको मन राख्नकै लागि उनीहरु यौन क्रियाका लागि तयार हुने गर्छन् । यस किसिमको यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई पनि खल्लो बनाइदिन्छ ।

उनीहरुबीच मनमुटाव, गुनासो आदि रहन्छ । आशंका पैदा गरिदिन्छ । आफ्ना पार्टनर किन यौनका लागि तयार भएनन् ? किन उत्सुक भएनन् ? यावत् प्रश्नले शंका पैदा गरिदिन्छ । अविश्वासको वातावरण बन्छ ।

अर्कोतिर आफ्नो यौन इच्छा पुरा गर्न पार्टनरको एकोहोरो प्रयास पनि रुचीकर हुँदैन । आफ्नो इच्छा बिना यौन क्रियाका लागि तयार हुनुपर्दा उनीहरुलाई दिक्क लाग्छ । यसरी यौन सम्बन्धकै कारण दम्पतीबीच कलह सुरु हुन्छ ।

यसरी यौनबाट सुरु भएको कलह केवल श्रीमान र श्रीमतीको सयन कक्षमा मात्र सीमित रहँदैन । यसले घर–परिवारसम्मलाई प्रभाव पार्छ ।

दम्पतीबीच भनाभन, ठाकठुक परिरहन्छ । यसले उनीहरुका परिवार, आमाबुवा र बालबच्चालाई समेत पिरोल्न थाल्छ । अन्ततः पारिवारिक माहौल नै विथोलिन पुग्छ । अर्थात दम्पतीको सयन कक्षबाट सुरु भएको कलह पारिवारिक सुखको बाधक बन्न पुग्छ ।

किन यस्तो हुन्छ ?

दम्पतीबीचको यौन जीवन जति आनन्ददायक र रोमाञ्चक हुन्छ, उनीहरुको सम्बन्ध पनि उत्तिकै मीठासपूर्ण हुन्छ । सक्रिय यौनले दम्पतीलाई शारीरिक रुपमा त नजिक ल्याउँछ नै, भावनात्मक रुपले पनि एकाकार गराउँछ ।

के भनिन्छ भने सक्रिय यौन क्रियाले दम्पतीलाई संभावित दीर्घ रोगबाट समेत बचाउँछ । कतिपय दीर्घ रोग लाग्नबाट बचाउनमा यौन क्रियाको पनि भूमिका रहन्छ । त्यस्तै मुटु रोग, चिन्ता एवं डिप्रेसन आदिबाट बचाउन पनि यौन क्रियाले सघाउ पु¥याउँछ ।

यी फाइदाहरु छँदैछ । अर्कोतिर सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धमा हुने कतिपय अविश्वास, भ्रम र गुनासोहरुलाई पनि किनारा लगाइदिन्छ । त्यसैले दम्पतीबीच सक्रिय यौन क्रिया हुनु एक अनिवार्य आवश्यक्ता मानिन्छ ।

तर, सबै दम्पतीको हकमा यस्तो हुँदैन ।

कतिपय श्रीमान वा श्रीमतीमा यौन दुर्बलता हुनसक्छ । यौनमा अरुची हुन सक्छ । आफ्ना पार्टनरसँगको यौन क्रिया रुचीकर नहुन सक्छ ।

किन यस्तो हुन्छ ?

यसमा एउटा मात्र कारण छैन । दम्पतीमध्ये एक जनामा यौन रुची नहुनुको अनेक कारण हुन्छन् । जस्तो कि यौन एवं प्रजनन रोग । कुनै दीर्घ रोग । मानसिक समस्या । शारीरिक समस्या । थकान, धपेडी । त्यसबाहेक पार्टनरप्रति लगाव वा रुची नहुनु पनि यसको अर्को कारण हो । आफ्ना पार्टनर मन नपरेको अवस्थामा पनि उनीहरु सक्रिय रुपमा यौन क्रियामा सहभागी हुन सक्दैनन् ।

त्यस्तै श्रीमान वा श्रीमती कुनै अर्का व्यक्तिसँग आकर्षित भएको अवस्थामा वा यौन भोग गरिरहेको अवस्थामा पनि पार्टनरसँग यौन गतिविधिमा संलग्न हुन रुचाउँदैनन् । विवाहेत्तर सम्बन्ध यसको अर्को कारण हो ।

यसको नतिजा

चाहे धपेडीको कारण होस् वा यौन दुर्बलताको । यौन रोगको कारण होस् वा अरु कुनै । जब श्रीमान वा श्रीमतीमध्ये एकले यौन क्रियामा सक्रियता देखाउँदैन, आशंका र अविश्वास पैदा हुन्छ ।

त्यसैले के कारणले यौन क्रियामा दुबैको समान सक्रियता नभएको हो भन्ने कुरामा दम्पतीले खुलेर चर्चा गर्नैपर्छ । मनभित्र कुरा लुकाएर राख्ने वा आशंका गर्ने भन्दा पनि प्रश्न गर्ने बानी राम्रो हो । आफ्ना पार्टनर यौनमा किन सक्रिय छैनन् ? किन पूर्ण रुपमा सहभागी हुँदैनन् ? बुझ्ने प्रयास गर्नुपर्छ ।

शरीरिक कारणले, यौन रोगको कारणले वा अन्य यस्तै कारणले हो भने त्यसको उपचार खोज्न सकिन्छ । चिकित्सक, यौन मनोविज्ञ आदिसँग परामर्श, उपचार गराउन सकिन्छ ।

यदि अर्कै व्यक्तिसँगको आकर्षण हो भने यो दाम्पत्य सम्बन्धको लागि एक घातक कदम हुनेछ । यो धोका हो । यस किसिमको प्रवृत्तिले कुनै न कुनै ठाउँमा पुगेर आफैलाई धोका दिन्छ । यसले आफुलाई मात्र होइन, बालबच्चा, आमाबुवा र परिवारलाई नै संकटमा पार्न सक्छ । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्