खुमलटारमा प्रचण्डसहित बरिष्ठ नेताहरुको छलफल, बादल गएनन्, बालुवाटारमा खैलाबैला

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर छलफल थालेका छन् ।

शनिबार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमति जनाएका पचण्ड आफ्नै गुटमा आलोचित बनेपछि बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउने छलफल थालेका हुन् ।

अहिले प्रचण्डनिवास खुमलटारमा सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् ।

यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल भने खुमलटारको छलफलमा सहभागी भएनन् । बादलले ओलीको प्रस्तावमा समर्थन जनाइसकेका छन् । यद्यपि उनी अन्य काममा व्यस्त भएकाले छलफलमा आउन नभ्याएको खुमलटार स्रोतको दाबी छ । उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले भने प्रचण्डलाई एक्ला÷एक्लै भेटेका छन् ।

ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको माधव नेपाल पक्षको बुझाइ छ । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो । आजै अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठकको पनि अन्योल कायमै छ ।

बैठकमा महाधिवेशन लगायत प्याकेज सहमतिको प्रस्ताव पेस गर्ने भनिए पनि प्रचण्डले आफ्नो समूहका नेतासँग परामर्श थालेपछि बालुवाटारमा खैलाबैला भएको छ । ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्