भारतको बनारसमा नेपालीमाथी दुर्व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं – अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतमा नेपालीमाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । नेपालीलाई दुर्व्यवहार गरेकोमा सन्तोष पाण्डेलाई पक्राउ गरेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गरेर टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।
त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।

यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । कुराकानीको क्रममा आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्