हट्यो अण्डा काठमाडौँ पठाउनुपर्ने बाध्यता

बागलुङ – स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन् । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो । उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए ।

बागलुङ नगरपालिका–३ रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गरेका उनले दुई वर्षदेखि स्थानीय जातका कुखुराको व्यावसायिकपालन गर्दै आएका छन् । स्थानीय जातका कुखुराको चल्ला उत्पादनका लागि जिल्लामै पहिलोपटक ह्याचरी सञ्चालनमा आएको उनको भनाइ छ । “पहिले चल्ला उत्पादनका लागि अण्डा बाहिर पठाउनुपथ्र्यो”, उनले भने, “गाडीमा ढुवानी गर्दा नोक्सानी हुन्थ्यो, लागत पनि बढ्थ्यो, अब त्यो बाध्यता हट्यो ।”

ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने उनको योजना छ । उनको ‘फार्म’मा अहिले स्थानीय साकिनी, कडकनाथ, घाँटी खुइले, उल्टे र बट्टाइलगायत गरी ६ सय कुखुरा छन् । कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले गत आवमा रु। दुई लाख ३६ हजार अनुदान दिएको थियो ।

ह्याचरी भने व्यक्तिगत लगानीमा सञ्चालन गरेको उनको भनाइ छ । व्यवसाय प्रवद्र्धनमा उनलाई छोरा निशानको दरिलो साथ छ । व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्छन् ।

पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए । देशभरका स्थानीय जातका कुखुरापालक किसान सामाजिक सञ्जालमार्फत एकठाउँमा जोडिएका छन् । यसले ज्ञान, सीप, अनुभव आदनप्रदानदेखि व्यवसाय विस्तार र प्रवद्र्धनमा सघाएको उद्यमी बैकुण्ठको बुझाइ छ । पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मुल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु। आठ सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु एक सय २५ मा बिक्री हुँदै आएको छ ।

स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँचरछ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने उनले बताए । “बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, उनले भने । कुखुरापालनबाट मासिक रु। ४० हजारसम्म मुनाफा निकाल्न उनी सफल भएका छन् । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ । कुखुरापालनका लागि शुरुमा उनले रु। चार लाख लगानी गरेका थिए ।

कुखुरापालनसँगै उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । पढाइमा स्नातक उनले कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन् ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्