साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने मन्त्रालयकाे तयारी

काठमाडौं — संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ ।

चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको चार सदस्यीय समितिले बिहीबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न सकिने सुझाव दिएको छ ।

स्रोतका अनुसार सहसचिव लामिछानेले सचिव केदारबहादुर अधिकारी हुँदै मन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनलाई सदर गरिएको छ । समितिको प्रतिवेदन शुक्रबार छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र हुँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा जानेछ । उक्त समितिको सिफारिसका आधारमा सरकारले साढे तीन महिनादेखि बन्द गरेको व्यवसायिक उडान सुचारु गर्न अनुमति दिनुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्