ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमा सर्वत्र आलोचना, कसले के भने हेर्नुहोस्

काठमाडौं – त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ ।

ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ भन्ने टिप्पणी गरेका थिए।

सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ‘नयाँ रामायण श्रवण गरौँ’ भन्दै ट्विट गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्: “धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ?”

ओलीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै ट्विट गर्नेमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत छन्।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्