पहिरोमा चौपाया पुरिए, घर जोखिममा

FILE PHOTO

बागलुङ – गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

उनका अनुसार भैँसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि रु दुई लाख ४० हजार ५०० को क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन । “वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौं”, वडाध्यक्ष श्रीसले भने ।

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ । मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन् ।

पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ । रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्