परराष्ट्रमन्त्री ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओबीच टेलिफोन संवाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गर्नुभएको छ ।
संवादका क्रममा उहाँहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गर्नुभयो । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल गर्नुभयो ।
मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिनुभएको थियो । दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्