सडकमा जथाभावी नथुक्नुहोस्, कोरोना फैलन सक्छ

Illustration: Ratna Sagar Shrestha

काठमाडौँ – सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि मानिसको चहलपहल बढेसँगै भाइरस फैलने जोखिमसमेत बढेको छ । मानिसहरू सार्वजनिक स्थलमा मास्क लगाइरहेका तथा हात सफा गरिरहका देखिन्छन् । यद्यपि धेरैले सार्वजनिक स्थानहरूमा जथाभावी थुक्नेजस्ता धेरै बानी छोड्न सकेका छैनन्, जसले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई झन् तीव्र बनाउँछ ।

कोरोना भाइरस थुकका छिटाहरूबाट सर्ने कुरा थाहा हुँदाहुँदै पनि धेरै मानिस सार्वजनिक स्थानमा अरुको स्वास्थ्य तथा सुरक्षाको ख्याल नै नगरी जथाभावी थुकिरहेका देखिन्छन् । ‘लकडाउन खुकुलो भएपछि न्युरोडमा बढेको भिडले भाइरस सङ्क्रमण फैलने जोखिम बढेको छ ।’ न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने रोदन शर्माले भन्नुभयो, ‘यो महामारीले हाम्रा लागि दोधारको स्थिति सिर्जना भएको छ । पसल नखोल्दा हातमुख जोर्नै समस्या, खोलौँ भने भाइरस सर्ने जोखिम ।’

शर्माले मानिसले बाटामा थुक्दै हिँड्नाले कोभिड १९ फैलने जोखिम बढेको बताउनुभयो । ‘लकडाउन लागू भएदेखि नै हामीले कोरोना भाइरस हावाबाट सर्ने रोग हो भन्ने सुन्दै आएका छौँ । खोक्दा र हाच्छ्युँ गर्दा कुहिना वा टिस्युले नाकमुख छोप्नुपर्छ भनेर थाहा छ ।’ शर्माले भन्नुभयो । ‘मानिसहरू सरकारको सचेतना अभियान र स्वास्थ्य संस्थाहरूले सुझाएका रोकथामका उपायहरूलाई बेवास्ता गरिरहेका छन् । मानिसले दैनिक बाटो हिँड्दा केही पर्वाह नगरी थुक्दै हिँडेको देख्छौँ’ उहाँले थप्नुभयो, ‘मानिस आफू सुरक्षित हुन मास्क लगाउनेदेखि सबै सावधानीका उपाय अपनाउँछन्, तर आफैँ भाइरस फैलाउने माध्यम बन्नबाट रोक्ने कुरा आउँदा सबै बिर्सन्छन् ।’

सार्स–कोभ–२ भाइरसका कारण हुने कोभिड–१९ सङ्क्रमण ¥याल तथा थुकको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्छ । त्यसैले सार्वजनिक स्थानमा थुक्नु अशोभनीय बानी मात्र होइन, जनस्वास्थ्यका लागि पनि घातक रहेको विज्ञ बताउँछन् ।

‘सार्वजनिक स्थानहरूमा थुक्नाले भाइरस फैलने जोखिम बढ्न सक्छ । धेरै मानिसहरू, विशेष गरी चुरोट पिउने, खैनी खाने, पान खानेहरू जहाँ पायो त्यहीँ थुक्ने स्वभाव हुन्छ ।’ जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेले भन्नुभयो । ‘सार्स-कोभ-२ को सङ्क्रमण विस्तार श्वासप्रश्वासमा हुने छिटाहरूमार्फत हुन्छ भन्ने कुरा अहिले प्रमाणित भइसकेको छ । कुनै मानिसले सार्वजनिक स्थान तथा बाटामा थुक्दै हिँड्दा अरु मानिसको आँखा, नाक तथा मुखमा ती छिटा पर्ने सम्भावना धेरै हुन्छ ।’ डा. पाण्डेले थप्नुभयो । उहाँका अनुसार यदि कुनै व्यक्तिले हावा ओहोरदोहोर गर्ने व्यवस्था नभएको बन्द कोठामा थुक्यो भने भाइरस सर्ने सम्भावना अझ उच्च हुन्छ ।

‘हाम्रा वरपर धेरै मानिसमा घरिघरि थुक्ने बानी हुन्छ, जुन यो महामारी फैलिरहेको समयमा खतरा हो । त्यसैले हरेक व्यक्तिले थुकका छिटाबाट सर्ने कोभिड(१९ होस् वा अन्य सङ्क्रमण न्यूनीकरण गर्न आफ्ना वरपरको सरसफाइ र स्वच्छतामा ध्यान दिनुपर्छ ।’ उहाँले भन्नुभयो । ‘बारम्बार थुक्नुपर्ने हामीमध्ये धेरैको पुरानो बानी हो । तर अहिले निकै जोखिमको अवस्था छ । एक व्यक्तिको सानो लापरवाही पनि जनस्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । त्यसैले हामीले सङ्क्रमण न्यूनीकरणका लागि आफ्नो बानी परिवर्तन गर्नेबारे सोच्नु जरुरी छ ।’ सामाखुशी बस्ने रामप्रसाद ज्ञवालीले भन्नुभयो ।

‘हामीले हाम्रो क्षेत्रमा सार्वजनिक स्थानमा थुक्न निषेध गरेका छौँ । कसैले सडकमा वा कतै थुकेको देखेमा तुरुन्तै उसैलाई सफा गर्न लगाउँछौँ ।’ ज्ञवालीले भन्नुभयो, ‘भारत तथा अस्ट्रेलियाजस्ता धेरै देशले कोरोना महामारीको यो समयमा सार्वजनिक थलोमा थुक्नुलाई अपराधिक गतिविधिको रुपमा लिएका छन् । मलाई लाग्छ, हाम्रो सरकारले पनि जथाभावी थुक्नेलाई कारबाही गर्ने व्यवस्था ल्याउनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्