विपद् नियन्त्रण गर्न गृहले ल्यायो पूर्वतयारी कार्ययोजना कार्यान्वयनमा

काठमाडौँ – कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायतका अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार सम्पन्न बैठकले मनसुन सुरु भएसँगै यसबाट सिर्जित हुने समस्याको समाधान तथा नियन्त्रण गर्न कार्ययोजना जारी गरेको हो । कार्ययोजना अब कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ । मुलुक कोरोना महामारीसँग जुधिरहेकै बेला वर्षातको समय सुरु भएको भन्दै गृहमन्त्री थापाले बाढी, पहिरो र डुबानजस्ता समस्याले थप पिरोल्दै जाने भएकाले आवश्यक सतर्कतासँगै पूर्वतयारी अपनाउन जरुरी रहेको बताए । “कोरोना र प्राकृतिक विपत्तिविरुद्ध जुध्न जरुरी छ,” उनले भने । “आवश्यक सावधानी र तयारीका साथ जोखिम क्षेत्रको पहिचान गरी केन्द्रदेखि स्थानीय तहसम्मले सामूहिक रणनीतिका साथ अगाडि बढेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।”

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७७ ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह), सुरक्षा निकाय, समुदाय तथा गैरसरकारी सङ्घ, संस्थाको भूमिकाको विषयमा स्पष्ट व्यवस्था गरेको छ । सम्भावित विपद्बाट हुन सक्ने जोखिमको न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी अगाडि बढाएको जानकारी दिदै मन्त्री थापाले यसका लागि साझा सहयोग र सहकार्यको अपेक्षा गरिएको स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्