विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको प्रदेश नं. २ मा विरोध

जनकपुरधाम – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ ।

जनता समाजवादी पार्टीका सांसद मनिष कुमार सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताए । ‘यो घोर महिला विरोधी र मधेशीलाई लक्षित गरेर निर्णय गरिएको हो’ उनले भने, ‘यो निर्णय सुधार गराउन प्रदेश सभाबाट प्रस्ताव पारित गराउनु जरुरी छ ।’

भारतको बिहार र उत्तर प्रदेशबाट २६ लाख महिला विवाह गरेर आएको र यताका हजारौं हजार महिला भारततर्फ विवाह गरेर गएको बताए । ‘यदि भारतलाई लक्षित गरेर यो कानून बनाउन लागिएको छ भने यो हाम्रो वैवाहिक र सांस्कृति सम्बन्धलाई उजाड्ने योजना मात्रै हो’ उनले भने, ‘सीता युगभन्दा पहिलादेखिको नेपाल भारतबीचको सम्बन्धलाई जोगाउनु जरुरी छ ।’

नेपाली कांग्रेस सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको ७ बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गरे । उनले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताए ।

२०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउनुपर्ने उनले माग गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्