बैतडीको दोगडाकेदारमा क्वारेन्टाइनमै एक जना बुबाको किरिया बसे

बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् ।

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन् । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए ।

क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बसेका थिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्