सङ्क्रमितसँगै रहेका ६२ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइयो

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ ।

१७२ को पिसीआर रिर्पोर्ट नेगेटिभ

जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा रहेका १७२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा थन्किएको स्वाबको बुधबार साँझ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । जाँच गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको र अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको पन्तले जानकारी दिएका छन् ।

१३३ जनाको स्वाब सङ्कलन

बाजुराको त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाले आरडिटीका क्रममा पोजेटिभ आएकाहरुको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । यसअघि गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेकाहरुको आरडिटीका क्रममा पोजेटिभ आएकाको स्वाब सङ्कलन कार्य शुरु गरिएको नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिएका छन् । ११६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार पहिलो दिन पार्वती माविबाट २७, महालक्ष्मी आधारभूत विद्यालयबाट एक, खिन्नै सत्यदेवी आधारभूत विद्यालयबाट १७ जनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यस्तै त्रिवेणीकै रत्न मावि सेलिफालबाट २०, नवदुर्गा आधारभूत विद्यालयबाट सात, नाटेश्वरी आधारभूत विद्यालयबाट पाँच, नरसिंह निमाविबाट ११, कैलाशेश्वरी मावि दम्था वडा नं ७, ८ र ९ का २८ जना क्वारेन्टिनमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्