श्रीमान र श्रीमतीको सम्बन्धमा सामाजिक सञ्जालले कति खटपट ल्याउँछ ?

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ?

किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात् फेसबुक, इन्स्टाग्राम, ट्विटर इत्यादि । जब उनीहरू सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, ट्विटरमा एकोहोरिन्छन् ।

जब दम्पतीबीच सम्वाद हुन छाड्छ वा सम्वादको वातावरण बिथोलिन्छ, तब स–साना असमझदारी बढ्छ । स(साना समस्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ । यस्तो अवस्था आउँछ कि त्यसले श्रीमान्(श्रीमतीबीच शंका–उपशंका पैदा हुन्छ । त्यसपछि एकअर्कामा असमझदारी बढ्छ । मनमुटाव हुन्छ । ठाकठुक पर्छ ।

तपाईंलाई लाग्दो हो, जाबो फेसबुक चलाउँदैमा त्यस्तो हुन्छ र ?

निश्चय पनि फेसबुक, ट्विटर, इन्स्टाग्राम चलाउँदैमा त्यस्तो हुँदैन । तर जड त्यही हो । जब तपाईंको लगाव सामाजिक सञ्जालमा बढ्न थाल्छ, तपाईं भर्चुअल संसारमा हराउन थाल्नुहुन्छ । नयाँ–नयाँ सम्बन्ध स्थापित हुन थाल्छ । नयाँ साथी–सर्कलमा प्रवेश गर्नुहुन्छ। यसको साइड इफेक्ट के हुन्छ भने तपाईं वास्तविक धरातलमा रहन सक्नुहुन्न ।

घर व्यवहार के भइरहेको छ, बच्चाहरूको अवस्था के छ, विद्यालयमा के भइरहेको छ, बुबाआमाको स्वास्थ्यस्थिति के छ, विद्युत वा पानीको बिल बुझाइयो वा बुझाइएन यावत् कुरामा गडबडी हुन थाल्छ । यसै कुराले बिस्तारै तपाईंको पारिवारिक जीवनलाई गाँठो पार्दै लान्छ । अन्तमा एउटा जालोमा फसाइदिन्छ ।

सामाजिक सञ्जालमा हामी यति धेरै लिप्त हुन थालेका छौं कि पारिवारिक मूल्य र मान्यताहरू ओझेल पर्न थालेका छन्।

सामाजिक सञ्जालमा लिप्त भइरहँदा दम्पतीबीचको सम्वाद टुटेको छ। स्वभावैले मानिसलाई रमाइलो गर्न मन लाग्छ । हातमा स्मार्टफोन हुँदा र फेसबुक चलाइरहँदा घरायसी कुरा गर्न कसरी जाँगर चल्छ ?

हामी सजिलो खोज्छौं, रमाइलो खोज्छौं । त्यही कारण त श्रीमती–श्रीमान् एकै ठाउँमा भएर पनि नभएजस्तो हुन्छ । दुवैको उपस्थिति र सामिप्यता एकअर्काले महसुस नै गर्दैनन् । न उनीहरूबीच घरायसी कुराकानी हुन्छ । न प्रेमिल संवाद नै ।

यसरी सामाजिक सञ्जालमा फसेर दम्पतीले आसपी सम्बन्धमा तिक्तता ल्याउँछ । अर्कोतिर समस्या जटिल छ । सामाजिक सञ्जालकै कारण अहिले सम्बन्धविच्छेदको घटना बढेको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि घरको सामान्य कामधन्दा नै प्रभावित भएको छ ।

छोराछोरी बिचल्लीमा परेका छन् । त्यति मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर विवाहेतर सम्बन्ध स्थापित हुने आशंका पनि प्रवल हुँदै गएको छ । क्षणिक रुपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरू बिस्तारै जटिल अवस्थामा प्रवेश गरेको पाइन्छ । यसले अन्ततः दम्पतीबीच संशय पैदा गर्ने मात्र होइन, कलहको बिउ नै रोप्ने गरेका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले दम्पतीमा विकृति भित्रिएको छ ।

कतिपय श्रीमान् श्रीमतीको झगडा सामाजिक सञ्जालकै निहुँमा हुने गर्छ । पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टुट्न पुगेको घटना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबीचको सम्बन्धविच्छेदको घटना कहाली लाग्दोगरी बढेको छ । त्यसमा एउटा प्रमुख कारण सामाजिक सञ्जाल भएको छ । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्