नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसको असहमति, सहमति जुटाउन ५ दिन समय थपियो

काठमाडौँ – संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको बैठकमा काँग्रेस सांसद दिलेन्द्र बडुले सहमतिका लागि समिति सभापतिसँग समय थप्न माग गरेका हुन् ।

मंगलबार बसेको समितिको बैठकमा विधेयक पास गरेर संसदको पूर्ण बैठकमा पठाउने तयारी भएपनि काँग्रेसका सांसदले १ दिनको समय माग गरेका थिए । पार्टीमा छलफल गरेर सहमतिको बाटो खोल्ने भनेपनि बुधबार कांग्रेस सांसद रित्तो हात बैठकमा सहभागी भएका थिए ।

सहमति जुटाउन कांग्रेसले समय मागेपछि बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले पनि राजनीति सहमति जुटाउनका लागि समय मागेको थिए । गृहमन्त्रीले पनि समय मागेपछि समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउनका लागि ५ दिनको समय दिएकी छिन् ।

नागरिकतासम्बन्धी विधेयकमा नेपालीसँग बिहे गरेर आएकी विदेशी महिलालाई नागरिकता दिने अवधिबारे राजनीतिक दलहरुबीच मतान्तर रहेको छ । काँग्रेस तथा मधेस केन्द्रीत दलले २०६३ सालको नागरिकता ऐन अनुसार नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई तत्काल नेपाली नागरिता दिनुपर्नेमा अडान लिएका छन् ।

यस्तै नेकपाले भने विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधानमा अडान लिइरहेको छ । आजको बैठकमा पनि नेकपा सांसदहरुले विदेशी बुहारीलाई ७ स्थायी बसोबासपछि वैवाहिक अंगिकृत नागरिकता दिने र त्यसअघिका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने परिचयपत्र दिनेमा सहमति गरेर विधेयक पास गर्न जोड दिएको सांसद लक्ष्मी कुमारी चौधरीले जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले अहिले भएकै व्यवस्था अनुसार विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिनुपर्ने विषयमा निर्णय गरेको छ । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्