नेकपाद्वारा संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदसँग स्पष्टीकरण माग

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ ।
सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको संविधान दोस्रो संशोधन विधेयक माथिको जेठ ३१ गते मतदान भएको थियो । मतदानमा नेकपाका चार जना सांसद अनुपस्थिति हुनुहुन्थ्यो । उहाँ चारै जनालाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले मङ्गलबार स्पष्टीकरण सोध्नुभएको छ ।
प्रतिनिधिसभामा भएको मतदानमा हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित हुनुहुन्थ्यो । यी सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,–‘जेठ ३१ को प्रतिनिधि सभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधि सभाको बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो ।
अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनु भएको हो ? पत्र प्राप्त भएको मितिले पाँच दिनपभित्र दलको कार्यालयमा उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहुन निर्देशन गरिन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्