फेवाताल पुरिने क्रम रोक्न मुहानमै ड्याम

बर्खामा वरिपरिका खोलाबाट बाढीसँगै गिट्टीबालुवा थुप्रिएर फेवाताल पुरिने क्रम रोक्न एकसाथ निर्माण थालिएका चारवटा ड्यामको काम अन्तिम चरणमा पुगेको छ । अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा ड्याम बनाइएका हुन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजनाअन्तर्गत अँधेरीखोला, हर्पनखोला र बेत्यानीखोलामा ड्यामको काम ९५ प्रतिशत सकिएको छ । लौरुकखोलामा पनि ७० प्रतिशत काम पूरा भएको पोखरा महानगरका इन्जिनियर विमल आचार्यले बताए ।

उनका अनुसार २८ करोड १६ लाख ११ हजार रुपैयाँमा निर्माण सम्झौता गरिएका यी ड्यामका लागि प्रदेश र महानगरले ५०/५० प्रतिशत लगानी गरेका छन् । अँधेरीखोलामा ९ करोड ६ लाख ४ हजार, हर्पनखोलामा ७ करोड ८८ लाख ६२ हजार, लौरुकखोलामा ५ करोड ७४ लाख ८४ हजार र बेत्यानीखोलामा ५ करोड ४६ लाख ५८ हजारमा ड्याम बनाउने सम्झौता भएको हो । अधेरी, हर्पन र लौरुकको ठेक्का खड्का कृष्ण पिके जेभी र बेत्यानीको ठेक्का गीता जयनेपाल ईश्वर जेभी कम्पनीले लिएका छन् । २०१९ सेक्टेम्बरमा सम्झौता भएका यी योजनाको सम्पन्न हुने मिति २०२१ जनवरी हो ।

‘चारवटै खोलाबाट गरी बर्सेनि २ लाख ५६ हजार घनमिटर ग्राभेल फेवातालमा पुग्छ । यसले गर्दा ताल पुरिँदै र साँघुरिँदै गएको छ,’ इन्जिनियर आचार्यले भने । सबै ड्याम ‘यू’ आकारमा निर्माण भएका छन् । अँधेरीको ड्यामको लम्बाई सय मिटर छ जुन बीचको भाग हो । छेउछेउमा ८२ र ८३ मिटर छ । यसको उचाइ बीचमा ४.१ र छेउछेउमा ४.५ छ । हर्पनखोला ड्यामको बीचको लम्बाइ ९१ मिटर छ भने दायाँतर्फ ९६ र बायाँतर्फ ११६ मिटर छ । बायाँतर्फ बस्ती भएकाले अलि उचाइ राखिएको इन्जिनियर आचार्यले बताए । बेत्यानीको बीचको लम्बाइ ४० मिटर छ । छेउछेउमा ६०/६० मिटर छ । त्यस्तै लौरुकखोलाको बीचको भाग ४३ मिटर र छेउछेउमा ५०–५० मिटर छ ।

‘सिल्ड ग्राभेलले फेवाताल पुर्ने भएकै कारण त्यसलाई हटाउन मुहानबाटै रोक्ने गरी पोखरी, स्परजस्ता विभिन्न संरचना निर्माण गरिएको हो,’ आचार्यले थपे । लकडाउनमा सुरुको एक महिना काम रोकिए पनि त्यसपछि निरन्तर छ । ‘एक महिनापछि पुनः विस्तारै केही कामदार आए । स्थानीय कामदारलाई पनि प्रयोग गरियो । जसकारण निर्माण रोक्नुपरेन,’ उनले भने ।

ड्याम निर्माण कार्यको गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिले अनुगमन गरेको छ । आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा निर्माण तीव्र गतिमा लैजान समितिले निर्देशन दिएको छ । समिति सभापति दीपक कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले लकडाउनको समयमा पनि काम भएकाले तोकिएको मितिमै निर्माण सम्पन्न हुने बतायो । ‘अन्य विकास–निर्माण योजनाको काम ठप्प रहँदा यहाँ भने रोकिएको छैन । धमाधम काम भइरहेको छ,’ कोइरालाले भने, ‘तर पनि केही समस्या छ कि भनेर बेलाबेलामा अनुगमन गरेका छौं ।’ टोलीले कामदार, ठेकेदार, प्राविधिक र स्थानीयसँग भेटघाट गरेको थियो ।

गण्डकी सरकारले सोमबार मात्रै प्रस्तुत गरेको आगामी वर्षको बजेटमा समेत उक्त योजना समावेश गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत फेवाताल संरक्षणका लागि १० वटा ड्याम निर्माण गर्ने योजना छ । पहिलो चरणमा ४ वटा निर्माण गरिएको पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए ।

कान्तिपुरकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्