पर्वत पहिरो अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो, अझै १ वेपत्ता

File Photo

पर्वत — शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको आइतबार बिहान र ३ जनाको आइतबार दिउँसो शव भेटिएको हो ।

मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा छन् । त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि शव फेलापरेको घटनास्थलबाट पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार अहिले दिउँसो साढे १ बजेसम्म पनि जेनिसा विक हराइरहेकी छिन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयलाई उद्धारमा समस्या भएपछि बिहानदेखि एस्काभेटरको सहायता लिइएको थियो । पहिरोले घर सबै पुरिएका कारण मृतकहरुलाई फेला पार्न समेत मुस्किल भएको घटनास्थलमा पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्