एन्ड्रोइड फोन बिगार्ने एउटा तस्विरको कथाः जुन तस्विर वालपेपरमा राख्दा फोन चल्दैन

अघिल्लो सालको गर्मी याममा आफूले खिचेको तस्बिर अकस्मात् समाचारमा आउन थालेपछि सान डिआगोका वैज्ञानिक गौरव अग्रवाललाई पत्याउन गाह्रो भयो ।

उनले उक्त तस्बिर सेन्ट मेरी ग्लासियल नेश्नल पार्क मोन्टानामा सन् २०१९ को अगस्टको एउटा सुन्दर साँझमा खिचेका थिए । उनले त्यो तस्बिर फोटोहरू सेअर गर्न प्रयोग गरिने फ्लिकरमा अपलोड गरे र लगभग बिर्सिए ।

तर जसले उक्त तस्बिरलाई वालपेपरका रूपमा एन्ड्रोइड फोनमा राखे, एन्ड्रोइड फोनको एउटा त्रुटिका कारण ती फोनहरू बिग्रन थाले ।

अघिल्लो हप्ता उक्त प्राविधिक समस्याबारे सामाजिक सञ्जाल ट्विटरमा व्यापक पोस्ट गरिए ।

अग्रवाल भन्छन्, “मैले जानेर त्यस्तो गरेको होइन । मानिसहरू समस्यामा पर्दा मलाई दुख लागेको छ।”

कस्तो समस्या देखियो?
यो समस्या एन्ड्रोइड फोनमा प्रयोग हुने अप्रेटिङ सिस्टम १० का सबैमा नभई केही मोबाइलमा देखापरेको छ । विज्ञले आफ्नो फोनमा यस्तो समस्या देखा पर्छ कि पर्दैन भनेर परीक्षण नगर्न सुझाएका छन् ।

“त्यो एकदमै सुन्दर साँझ थियो,” अग्रवालले भने । सुन्दर फोटो खिच्ने उद्देश्यले तेश्रो पटक उनी श्रीमतीसहित उक्त पार्कमा पुगेका थिए । “अँध्यारो र बादल लागेको थियो र हामीले सुर्यास्त राम्रो देखिने छैन भनेर ठानेका थियौँ । तर हामी फर्किन लाग्दा अवस्था बदलियो ।”

उनले निकोन क्यामेराले तस्बिर खिचे र लाइटरूम नामक सफ्टवेयरको प्रयोग गरी त्यसलाई सम्पादन गरे । सम्पादनको बेला उक्त फोटो समस्याग्रस्त बन्यो ।

लाइटरूमले अन्तिम तस्बिर छनौट गर्नका लागि तीनवटा रङ्गको विकल्प दिन्छ र अग्रवालले छनौट गरेको विकल्पले एन्ड्रोइड फोनलाई झुक्क्याएको देखिन्छ ।

किन समस्या देखिन्छ?
“मलाई थाहै थिएन कि फोटोको प्रकारले यस्तो हुन्छ । म आईफोन प्रयोग गर्छु जसको वालपेपरमा सधैँ मेरी श्रीमतीको तस्बिर हुन्छ ।”

फ्लिकरमा अग्रवालका १०,००० भन्दा बढी साथी छन् । सो तस्बिर न्याश्नल जिओग्राफिक पत्रिकामा पनि प्रकाशित भएको छ । अग्रवालले भविष्यमा आफूले तस्बिर सम्पादन गर्दा अर्कै ढाँचामा गर्ने बताएका छन् ।

पेन टेस्ट इन्टरनेट सुरक्षा संस्थाका केन मुनरो र डेभ लज भन्छन्, “डिजिटल फोटोग्राफरहरूले तस्बिरको गुणस्तर सुधार गरेको अवस्थामा फोनले उक्त तस्बिरलाई राम्रोसँग कसरी देखाउने भनेर जाँच्नुपर्छ।”

“उदाहरणका लागि हरियो रङ्गको छायाँ कसरी ठ्याक्कै देखाउने भनेर फोनले थाहा पाउँछ।”

उनीहरूले कतिपय अवस्थामा उपकरणहरूले थेग्नेभन्दा बढी रङ्गको संयोजन हुने भन्दै त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने फोनले थाहा नपाउने उल्लेख गरे।

“कसरी उक्त समस्यालाई हल गर्ने भन्ने थाहा नपाएर फोनले काम गर्न छाडेको हो। सफ्टवेयर विकास गर्नेहरूले यस्तो हुनसक्छ भनेर आकलन गरेका थिएनन्।” स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्