प्रतिपक्ष दलका सबै खर्च कटौतीसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं – प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकोमा सदनको बहुमतले अस्वीकृत गरेको हो । उक्त खर्च कटौतीसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका पुष्पा भुसाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, डा मीनेन्द्रप्रसाद रिजाल, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, राजेन्द्रकुमार केसी र देवेन्द्रराज कँडेलले प्रस्तुत गरेका थिए ।

सोही दलका मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेनद्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, रङ्गमती शाही र प्रकाशमान सिंहले विनियोजन विधेयकका विभिन्न शीर्षकमा खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, समाजवादी पार्टीका प्रदीप यादव र रामबाबुकुमार यादवको खर्च कटौती प्रस्तावलाई पनि सदनले अस्वीकृत गरेको छ ।

यसअघि बैठकमा सभामुखले खर्च कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन सम्बन्धित सदस्यलाई समय दिएकोमा उनीहरुले आफूहरुले उठाएको विषयमा चित्त बुझ्दो जवाफ नआएको जनाउँदै फिर्ता नलिने जवाफ दिएका थिए । – (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्