१० अर्ब खर्चको विवरण सार्वजनिक गर्न सरकारसँग साझा पार्टीको माग (विज्ञप्ति सहित)

बुटवल – साझा पार्टी प्रदेश ५ समितिले कारोना रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको छ ।
सरकारले चार महिनाको अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणमा १० अर्ब रुपैयाँ खर्च भएको बताएको छ । उक्त खर्चको पुष्टि गर्ने कुनै आधार सरकारपक्षबाट सार्वजनिक नभएको भन्दै साझा पार्टी प्रदेश समितिले खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ५ का संयोजक अनुपमान सैजुले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय समितिको बैठकमा मात्रै १० अर्ब खर्च भयो भनेर नपुग्ने भन्दै खर्चको सबै विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेका हुन् ।

‘सरकारले खर्चको विवरण फेहरिस्त सार्वजनिक गर्नुपर्नेमा सो कार्य सरकार पक्षबाट हुन नसकेकाले स्वास्थ्य सामग्री खरिद, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा अपारदर्शी ढंगले गरिएको खर्चको साझा पार्टी प्रदेश ५ आलोचना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर कहाँ बोलपत्र आह्वान गरियो ? कसरी यत्रो पैसा खर्च भयो ? यो नेपाली जनताले जान्न पाउनु पर्छ भन्ने हाम्रो माग हो ।’

१० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क र पीपीई समेत नभएको, आइसोलेशन पनि मापदण्ड अनुसारको नभएको, अधिकांश कोरोना संक्रमित नागरिकको मृत्युपछि मात्रै कोरोना परीक्षण गर्ने पद्धति सुरुदेखि कायम रहेको, व्यवस्थित क्वारेन्टिन र आइसोलेसन नबनाइएको, क्वारेन्टाइनमा खानपिनको राम्रो व्यवस्था नभएको अवस्थामा पनि करिब दश अर्ब खर्च भएको देखाइनुमा निश्चित रुपमा आर्थिक भ्रष्टाचार भएको आशंका नागरिकस्तरबाटै उठेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्