संक्रमित बढेसँगै बजेटमै समेटिएको ‘कोरोना बिमा’ योजना बन्द

काठमाडौं – आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन् ।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् ।

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले भोलि शुक्रबारदेखि पोलिसी नै स्थगन गर्न बिमा समितिमा प्रस्ताव गरिएको जानकारी दिए । बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ । बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं ।’ नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड(१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् ।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।

सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन् । प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए । हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन् । अनलाइनखबरबाट

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्