छुवाछूत सम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय हुन्छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट पारे । जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले भने, “छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।”

छुवाछूतलाई मानव सभ्यताकै कलङ्कको संज्ञा दिदै उनले अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गरिने विश्वास व्यक्त गरे । मानव सभ्यताको कलङ्कका रूपमा रहेको छुवाछूत प्रथालाई कानुनी रूपमा अन्त्य गरिए पनि सामाजिक रूपमै अन्त्य गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

उनले जातीय छुवाछूत र विभेद निश्चित समुदायको मात्र नभई समाज र राष्ट्रको समस्या भएको चर्चा गरे । उनले भने, “जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्छु ।”
छुवाछूत तथा भेदभाव अन्त्यका लागि तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, मिडिया र आमनागरिकलाई आह्वान गरे ।

उनले भने, “युगौँ अघिदेखि भइरहेको छुवाछूत प्रथा अन्त्य गर्न राज्यको तत्परता वा कानुनी निषेध मात्रै पर्याप्त हुँदैन । यस्ता अमानवीय प्रथाविरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाइनु पर्छ ।”
‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकांक्षाको सङ्कल्पसम्म पुग्न भेदभावरहित सामाजिक न्याय र समानता सहितको समृद्धिलाई सरकारले उद्देश्य बनाएको उहाँले स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्