महँगो मुल्यमा मदिरा बचेको भेटिएपछि केके मार्ट ३ लाख जरिवानामा

काठमाडौं – बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु ६५० को मदिरालाई रु ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको हो । ‘उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरीद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको हो’ उनले भने ।

त्यस्तै, आज नै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेवापत रु दुई लाख जरिवाना गरिएको छ । उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्