सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज ४ बजे प्रस्तुत हुने

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते आज प्रस्तुत गर्ने भएको छ ।

प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको जानकारी दिए । प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

कोरोना भाइरसका कारणले सिर्जित असहज अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकता दिएर आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

उनले विपदमा परेका व्यक्तिको उद्धारका लागि केन्द्र स्थापना गर्न बजेट ल्याइने, दार्चुलाको ब्यास गाउँपालिका लागि विशेष विकास प्याकेज ल्याउनेलगायतमा जोड दिइने बताए । प्रदेश सरकारले एकीकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्