बजेट सटिक र सान्दर्भिक: सांसद

काठमाडौं – राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताए । यसैगरी प्रतिपक्षी दलका सांसदले बजेटले प्राथमिकता र आवश्यकताका विषयलाई समेट्न नसकेको टिप्पणी गरे । यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.खतिवडाले आगामी आव २०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।

छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको बताएका छन् । उनले कोभिड–१९ पछिको अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटले अहिलेको असामान्य परिस्थितको सम्बोधन गरेको बताए । स्वास्थ्य क्षेत्रमा ३२ प्रतिशत बजेट बृद्धि गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनजस्ता कामलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको उनले उल्लेख गरे । उनले तीन वर्ष्भित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र सबै प्रदेशमा सुविधासम्पन्न अत्याधुनिक अस्पताल सञ्चालन गर्नेजस्ता राम्रा कार्यक्रम बजेटमा समेटिएको बताए ।

नेकपाका प्रवक्ता समेत रहेका सांसद श्रेष्ठले रोजगारी सिर्जना तथा उत्पादन अभिवृद्धि गरी सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने सिद्धान्तसहित बजेट आएको उल्लेख गरे । बजेटका धेरै कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि कोभिड–१९ पछि ‘गेम चेन्जर’ परियोजना र ‘भिजन’ प्रस्तुत हुनुपर्ने थियो त्यो अपुरो रहेको बताए । सोही पार्टीका सांसद दिलकुमारी रावल थापा (पार्वती) ले बजेट अहिलेको आवश्यकताअनुरुप वस्तुपरक र यथार्थ रहेको हुँदा यसको कार्यान्वयन पक्षमा जोड दिइन् । उनले बजेटका सिद्धान्त र प्राथमिकता वर्तमान आवश्यकतासँग सान्दर्भिक रहेको बताइन् ।
सोही पार्टीका अर्का सांसद विमला घिमिरेले सन्तुलित र समयानुकुल बजेट आएको हुँदा यसको कार्यान्वयनका लागि तीन तहको सरकार र प्रशासन यन्त्रको सक्रियता चाहिने खाँचो औँल्याइन् । सोही पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठले नेकपाको घोषणापत्रलाई सम्बोधन गर्ने गरी आएको र अहिलेको कोभिडको महामारी नियन्त्रणलाई बजेटले ध्यान दिएको बताए । उनले कोभिडले थलिएको मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्तिका लागि पनि बजेटले व्यवस्था गरेको उल्लेख गरे । नेकपाका सांसद खिमकुमार विश्वकर्माले समय सान्दर्भिक दिगो विकास र सुशासनलाई बजेटले प्राथमिकता दिएको बताए ।

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले बजेट समाजको कुन वर्गका लागि हो भनी प्रश्न गर्दै यो बजेट सुकिला, मुकिला टाइसुट लगाउनेका लागि मात्र भएको टिप्पणी गरे । सर्वहारा, विपन्न र गरिब वर्गको लागि बजेटले प्राथमिकता नदिएको र भोका निमुखा गरिब जनताको पक्षमा बजेटले नबोलेको उनले टिप्पणी गरे । राष्ट्रिय जनता पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवले कृषि उत्पादन, स्वास्थ्य प्रवद्र्धनजस्ता विषयलाई अपेक्षित कार्यक्रम ल्याउन नसकेको बताए । उनले सांसद विकास कोषलाई कोभिड–१९ महामारी नियन्त्रणका परिचालन गर्नुपर्नेमा बजेट कनिका छरिएसरह सबै क्षेत्रलाई विनियोजन गरिएको टिप्पणी गर्दै बजेटलाई रोग र भोकसँग जुध्ने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले कोभिड–१९ को रोकथाम तथा अन्य सरुवाजन्य रोगको निरुपणका लागि बजेटले प्राथमिकता दिनु सकारात्मक भएको बताइन् । उनले बजेटले वित्तीय सन्तुलन र क्षेत्रगत समानता कायम गर्न नसकेको र अहिलेको सङ्कटको अवस्थामा स्वास्थ्य र कृषिजस्ता विषयलाई बजेटले प्राथमिकता दिननसकेको बताइन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्