चौरजहारी घटनामा मृत्यु भएका सबैको टाउकोमा चोट, एक जना अझै बेपत्ता

जाजरकोट – रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।

बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चोट रहेको बताएका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर टाढा कालाभीर नजिक भेरी नदीको खोचमा फेला परेको जाजरकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए । टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए । खोजीमा संलग्न भेरी नगरपालिका–११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए । उनको शव विहिबार फेला परेको हो ।

योसँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो । बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीय सुवर्ण रोकायले बताए । यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए । अस्पतालले पोष्र्टमार्टमको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले भने पोस्टमार्टम रिपोर्ट हेरेपछि मात्र भन्न सकिने जनाएको छ । जाजरकोटका डीएसपी किशोर श्रेष्ठले भने, ‘नदीमा पौडी खेलिरहेको बेला माथिबाट ढुंगा वर्षाउँदा चोट लागेको हुनसक्छ । सँगै गएका साथीको बयानका आधारमा पनि नदीमा हाम फालिसकेपछि पनि ढुंगा प्रहार भइरहेको थियो भन्ने आएको छ । लासको प्रकृति हेर्दा कुटपिट र ढुंगा प्रहार गरेको देखिन्छ ।’ केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराजसहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए ।

मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराज साथीसहित जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाइएको थियो । पीडित पक्षले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० विरुद्ध किटानी जाहेरी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्