आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

File Photo

काठमाडौँ । लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ हिजैदेखि अवरुद्ध छन् । विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक र अस्थायी संरचना बगाएपछि यी सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

राजमार्गका विभिन्न ठाउँमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, ज्यामिरेघाट र गजुरीनजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ । पहिरो पन्छाउने काममा वर्षा र थप पहिरोको जोखिम बाधक बनेको प्रहरीले जनाएको छ ।

यस्तै, बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । यसका कारण काठमाडौँबाट पूर्वी नेपालतर्फ तथा पूर्वी क्षेत्रबाट काठमाडौँ आउने यात्रु प्रभावित भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

बाढीपहिरोका कारण देशका अन्य धेरै सडकखण्डसमेत हिजैदेखि बन्द छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । लगातार वर्षा भइरहेकाले सडकमा थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोको उच्च जोखिम रहेका मध्य तथा पश्चिम क्षेत्रका २५ जिल्लामा राति र दिउँसो दुवै समयमा सवारीसाधन पूर्णरूपमा बन्द गर्न सुझाव दिएको छ । जोखिमयुक्त क्षेत्रमा सवारी आवागमन रोक्दा सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने प्राधिकरणको सुझाव छ ।

त्यस्तै, पूर्वी पहाड तथा मध्य र पश्चिम भेगका २९ जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न र दिउँसोको समयमा सडक तथा मौसमको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिन प्राधिकरणले भनेको छ । कोशी, मधेश र बागमती प्रदेशका २३ जिल्लामा भने उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लगातारको वर्षासँगै नदी तथा खोलामा जलसतह बढिरहेको र विभिन्न क्षेत्रमा पहिरो जाने क्रम जारी रहेकाले सडक यात्रा जोखिमपूर्ण बनेको छ । प्राधिकरण तथा सुरक्षा निकायले अत्यावश्यक अवस्थामा बाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्