आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निकै ठूलो वर्षा हुनसक्ने पूर्वानुमान

काठमाडौँ – मध्य तथा पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । लगातार वर्षाका कारण विभिन्न नदी तथा खोलामा बाढी आएको छ । संखुवासभाको अरुण, पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाटलगायतका नदी तथा खोलामा ठूलो बाढी आएको भन्दै बाढी पूर्वानुमान महाशाखाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकासहित पूर्वी क्षेत्रका केही ठाउँमा भने वर्षा केही कम भएको छ । यद्यपि, पूर्वका केही स्थानमा पानी पर्ने क्रम घटे पनि काठमाडौँसहित देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने सम्भावना छ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यस्तै, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । देशका अन्य स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण सडक तथा यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबार बेलुकीदेखि नै देशका धेरैजसो स्थानमा निरन्तर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित हुने सम्भावना छ । पर्सि सोमबारदेखि भने देशका धेरै ठाउँमा वर्षा हुने क्रम क्रमशः कम हुँदै जाने पूर्वानुमान गरिएको छ ।

लगातारको वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै आज लामो दूरीको यात्रा नगर्न मौसमविद्ले आग्रह गरेका छन् । अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरेमा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ । हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्