आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौं – विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रमसहित स्मृति दिवस मनाउन लागेका हुन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा परिचित सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नुभएको थियो।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मनुभएका सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो। उहाँले राणाशासनविरुद्धको आन्दोलनमा प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। २००७ सालअघि भद्रगोल जेलबाट भागेर भारत पुग्नुभएका सिंहले त्यहाँ नेपाली कांग्रेसका नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गर्नुभएको थियो। उहाँ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा समेत सक्रिय हुनुभएको थियो।

२००७ सालको प्रजातन्त्र स्थापनाका लागि भएको क्रान्तिमा उहाँले वीरगन्ज मोर्चाबाट सशस्त्र सङ्घर्षको नेतृत्व गर्नुभएको थियो। २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बन्नुभएका सिंहले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि लामो समय काराबास जीवन बिताउनुभएको थियो। विसं २०२५ मा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासबाट राजनीतिक संगठन विस्तार गर्नुभयो। त्यसपछि विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका सिंह पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभयो।

गणेशमान सिंहलाई नेपाली लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण नेताका रूपमा स्मरण गरिँदै आएको छ। उहाँको स्मृतिमा हरेक वर्ष असोज २ गते विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्