एनपीएल खेल्न नेपाल आउँदै डेभिड वार्नर, काठमाडौँ गोर्खाजमा अनुबन्ध

काठमाडौँ – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक जानकारी दिएको हो । वार्नर एनपीएलमा खेल्न आउने अहिलेसम्मकै ठूला अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले समेत वार्नरले एनपीएल खेल्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त पोस्टमा वार्नरले ‘लाइक’ गरेपछि उनी एनपीएलमा आउने चर्चा थप बलियो बनेको थियो ।

काठमाडौँ गोर्खाजले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संकेत तथा ‘हिन्ट’ बाट पनि वार्नर नै टोलीमा आबद्ध हुन लागेको अनुमान गरिएको थियो । त्यसपछि उनको सम्भावित आगमनबारे समाचार सार्वजनिक भएका थिए । अन्ततः गोर्खाजले वार्नरलाई अनुबन्ध गरेको पुष्टि गरेको हो । ३९ वर्षीय वार्नर अस्ट्रेलियाका सफल सीमित ओभरका खेलाडीमध्ये एक हुन् । उनले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकप, एकपटक टी–२० विश्वकप तथा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, सन् २०२१ को टी–२० विश्वकप तथा सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका हुन् ।

वार्नर अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय प्रारूपमा शतक बनाउने खेलाडीसमेत हुन् । उनले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि परिचित वार्नर विश्व क्रिकेटमा टी–२० फ्रेन्चाइज क्रिकेटका समेत अनुभवी खेलाडी हुन् । समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेल खेल्दै १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन् । लामो समयदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगमा प्रभावशाली प्रदर्शन गर्दै आएका वार्नरको आगमनले एनपीएलको अन्तर्राष्ट्रिय आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ ।

वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल) र अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) बाहेक पाकिस्तान सुपर लिग (पीएसएल), इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) तथा भाइटालिटी ब्लास्टलगायतका चर्चित टी–२० प्रतियोगिता खेलिसकेका छन् । एनपीएलमा वार्नरको सहभागिताले नेपाली क्रिकेटप्रेमीमा थप उत्साह बढाउने देखिएको छ । विश्व क्रिकेटका चर्चित र अनुभवी खेलाडी नेपाल आएर घरेलु फ्रेन्चाइज लिग खेल्नुले एनपीएलको स्तर, दर्शक आकर्षण तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्