धनुषामा १५ महिनाका बालक अपहरण भएको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ

धनुषा – धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए । बालक हराएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धाबाट प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको थियो ।

बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो । खोजीका क्रममा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरी घटनास्थल तथा आसपासका सम्भावित स्थानमा व्यापक खोजतलास गरिएको प्रहरीले जनाएको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा विभिन्न पक्षबाट प्राप्त सूचनाको विश्लेषण तथा प्राविधिक अनुसन्धानलाई समेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीका अनुसार शंकित महिलाले बालकलाई विभिन्न स्थानमा सार्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको खुलेको थियो ।

बालकलाई भारततर्फ लैजान सक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै प्रहरीले धनुषाका विभिन्न नाकामा २४ घण्टा सुरक्षा निगरानी बढाएको थियो । साथै, प्राविधिक अनुसन्धान र सूचनाको विश्लेषणमार्फत बालक तथा शंकित महिलाको खोजीलाई तीव्र बनाइएको थियो ।

प्रहरीको घेराबन्दी तथा खोजी अभियान तीव्र भएपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे पुनिता देवी पासवानले बालकलाई उनको घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन् । बालकलाई तत्काल प्रहरीले सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो । स्वास्थ्य परीक्षणपछि बालकको अवस्था सामान्य रहेको पाइएपछि अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालकलाई सडकछेउमा छाडेर भागेकी पासवानलाई प्रहरीले सोही दिन साँझ करिब ३ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकलाई सकुशल उद्धार गर्न व्यापक जनशक्ति परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धान, सूचनाको विश्लेषण र सीमा क्षेत्रमा निगरानीलाई एकीकृत रूपमा अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्