काठमाडौँ – हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज आइतबार दर खाने तयारी गरेका छन् । भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराअनुसार साँझ दर खाएसँगै यस वर्षको चारदिने तीजपर्व औपचारिक रूपमा सुरु हुनेछ । तीजको व्रतका दिन निराहार बस्ने भएकाले अघिल्लो दिन शरीरलाई आवश्यक शक्ति पुग्ने गरी दूधबाट बनेका शुद्ध तथा पौष्टिक परिकार खाने चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने परम्परा नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ । दरका रूपमा दूधबाट बनेका परिकारसँगै गहुँको रोटी, घिउलगायत आडिलो खाद्य पदार्थ खाने गरिन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार गहुँको रोटी र घिउजस्ता परिकार व्रत बस्नेका लागि तुलनात्मक रूपमा आडिलो हुने भएकाले परम्परागत रूपमा दरमा यस्ता खाद्य पदार्थको प्रयोग हुँदै आएको हो ।
दर खाने दिनसँगै तीजपर्वको धार्मिक तथा सांस्कृतिक गतिविधि पनि सुरु हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन महिलाले हरितालिका व्रत बस्नेछन् भने चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीजपर्व सम्पन्न हुनेछ । यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी र त्यसपछि ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ ।
निराहार व्रतअघि दर खाने परम्परा
तीजको व्रतमा निराहार बस्ने महिलाले अघिल्लो दिन बेलुकी दर खाएर व्रतका लागि शारीरिक रूपमा तयारी गर्ने धार्मिक परम्परा रहेको छ । शास्त्रीय विधानअनुसार भाद्र शुक्ल द्वितीयाको राति नै दर खाइसक्नुपर्ने मान्यता छ । यही कारण दर खाने परम्परा विशेषगरी तृतीयाको व्रतसँग जोडिएको छ ।
तीज धार्मिक पर्व मात्र नभई महिलाले आफ्ना सुखदुःख र सामाजिक अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा समेत विकास भएको छ । माइतीघरमा जम्मा हुने, पुराना साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गर्ने र गीतका माध्यमबाट वर्षभरिका पीडा, दुःख तथा भोगाइ सार्वजनिक गर्ने परम्परा तीजसँग जोडिएको छ । विवाहपछि जन्मघर छाडेर कर्मघर पुगेका महिलाले आफ्नो जीवनका अनुभव तथा भावनालाई तीजका गीतमार्फत व्यक्त गर्ने गरेका छन् ।
पछिल्लो समय भने तीजको मौलिक संस्कृति र परम्पराभन्दा बाहिरी तडकभडक हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । महिनौँअघि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तीजका नाममा अत्यधिक खर्च गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै लगेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।
उहाँका अनुसार भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन व्रतका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले खाने दरलाई महिनौँअघि नै खाने प्रवृत्तिले यसको धार्मिक तथा सांस्कृतिक अर्थ नै परिवर्तन गरिरहेको छ । त्यसैगरी व्रतका नाममा अत्यधिक तामसी तथा अस्वस्थकर खाद्य पदार्थको प्रयोग बढ्नुले पनि तीजको मौलिक संस्कृतिमा असर पुर्याइरहेको उहाँको भनाइ छ ।
संस्कृतिविद् तथा धर्मशास्त्रीहरूले तीजलाई प्रतिस्पर्धा, प्रदर्शन र अनावश्यक खर्चको माध्यम बनाउनुभन्दा यसको मौलिक धार्मिक तथा सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारमा तडकभडकपूर्ण तीजले थप सामाजिक दबाब सिर्जना गर्ने भएकाले पनि पर्वलाई सरल र संस्कृतिमैत्री बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
सरकारी कार्यालयमा समेत तीजको तडकभडक
पछिल्लो समय सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा समेत तीजका नाममा महिनौँअघिदेखि कार्यक्रम गर्ने र ठूलो खर्च गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना हुने गरेको छ । समाजमा देखिएका विकृति हटाउनुपर्ने जिम्मेवारी बोकेका सार्वजनिक निकाय नै अनावश्यक तामझाममा संलग्न हुँदा त्यसले गलत संस्कारलाई थप संस्थागत गर्ने संस्कृतिविद्हरूको भनाइ छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले तीजको वास्तविक धार्मिक र सांस्कृतिक पक्षलाई बुझेर पर्व मनाउनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने समय शास्त्रीय रूपमा निर्धारित हुनुको मुख्य उद्देश्य भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्ने तयारी गर्नु हो ।
तीजको पौराणिक पक्ष
हरितालिका तीजसँग जोडिएको पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् महादेवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन् । पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग आफ्नो समस्या सुनाएको विभिन्न पुराणमा उल्लेख छ ।
पार्वतीको समस्या बुझेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेका थिए । त्यही स्थानमा पार्वतीले निराहार व्रत तथा कठोर तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । पार्वतीलाई साथीहरूले हरण गरेर लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । महिलाहरू व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने, परिवारको सुख–समृद्धिको कामना गर्ने तथा आफन्त र साथीभाइसँग भेटघाट गरी पर्व मनाउने गर्छन् ।
नेपालमा लामो समयदेखि मौलिक रूपमा मनाइँदै आएको तीज पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको विस्तारसँगै नेपालबाहिर पनि फैलिँदै गएको छ । भारतका विभिन्न क्षेत्रमा समेत नेपाली समुदाय तथा अन्य समुदायले तीजका गीत र कार्यक्रममार्फत पर्व मनाउन थालेका छन् ।
तीज सुरु भएसँगै रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा तीजका गीत गुञ्जिन थालेका छन् । यससँगै नेपाली समाजमा पर्वको वातावरण थप उत्सवमय बन्ने गरेको छ । तीजपछि नेपालीको प्रमुख पर्वका रूपमा बडादसैँ र तिहार नजिकिँदै जाने भएकाले तीजलाई नेपालीको चाडपर्वको मौसम सुरु हुने पर्वका रूपमा समेत लिइन्छ ।



