काठमाडौं । केएल दुगड ग्रुपले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ। भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले ग्रुपले पहिलो चरणमा दुई ट्रक खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। ग्रुपका अनुसार राहत सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरिएको हो। उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा तथा विभिन्न मसलालगायत दैनिक उपभोग्य खाद्य सामग्री समावेश छन्। विपद्का कारण दैनिक जीवनयापन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन परिस्थितिमा केही राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ। बाढीका कारण खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा सहजता ल्याउन राहत सामग्री उपलब्ध गराइएको ग्रुपको भनाइ छ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा आवतजावतमा समस्या रहेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने ग्रुपले जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिएर मानवीय सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा रहेको बताउँदै केएल दुगड ग्रुपले आगामी दिनमा पनि सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। ग्रुपले बाढीबाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै विपद्को कठिन घडीमा आवश्यक सहयोगका लागि निरन्तर साथ दिने जनाएको छ।

केएल दुगड ग्रुपको बारेमा
सन् १९८९ मा स्थापित केएल दुगड ग्रुप नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानामध्ये एक हो। ग्रुपले मुख्यतः खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्स उत्पादनको उत्पादन र बजारीकरण गर्दै आएको छ।
ग्रुपअन्तर्गत ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा र लिभप्योर लगायतका विभिन्न ब्रान्डहरू बजारमा रहेका छन्।



