काठमाडौं – रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत आयोजनाहरूमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले जनाएको छ।
आयोजनाको सुरुङ तथा हेडवर्क्समा बेपत्ता भएकाहरूको खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा सल्लेटार क्षेत्रमा फेला परेका ६ शवलाई नेपाली सेनाले बट्टार ल्याएको जनाइएको छ।
उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पा, सर्च तथा ड्रोन टोली परिचालन गरिएको छ। विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत खोजीमा प्रयोग गरिएको छ। आयोजनाका अनुसार उद्धारका लागि १५ वटा विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्याइएको छ। सुरुङभित्र भने पानी निकाल्न वाटर पम्प सञ्चालनमा राखिएको छ।
बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५१ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनी डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृहसचिवसँग भेट गरी उद्धार कार्यका लागि थप मेसिन तथा उपकरण आयोजनास्थलसम्म लैजान आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ।
रसुवागढीमा ९३ जना सम्पर्कविहीन
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा पनि शुक्रबार उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेन। आयोजनास्थलमा मेसिनरी तथा आवश्यक उपकरण पुर्याएर विद्युतगृहमा फसेकाहरूको खोजी गर्ने तयारी भए पनि नदीमा पानीको सतह निरन्तर बढिरहेको र मौसम प्रतिकूल भएकाले काम सुरु गर्न नसकिएको इपानले जनाएको छ।
आवश्यक उपकरणहरू त्रिशूलीबाट धुन्चेसम्म पुर्याइए पनि आयोजनास्थलसम्म लैजान कठिनाइ भएको छ। धुन्चेबाट आयोजनास्थल पुगेर साँझ पुनः फर्कन समस्या हुने भएकाले शनिबारदेखि आयोजनाको सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर खोजी तथा उद्धार टोलीलाई त्यहीँ राख्ने तयारी गरिएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ।
रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा १९१ जना बेपत्ता
३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा बाढी आएको १० दिन बितिसक्दा पनि बेपत्ता भएकाहरूको अवस्था पत्ता लाग्न सकेको छैन। आयोजनास्थलमा साना मेसिन प्रयोग गरेर उत्खनन गर्दा विद्युतगृह रहेको क्षेत्रमा खोला पुगेको पाइएको छ। त्रिशूली नदीको सतहदेखि २ मिटर तलसम्म उत्खनन गर्दा पनि विद्युतगृहको संरचना फेला नपरेपछि १२ मिटरसम्म उत्खनन गर्ने तयारी गरिएको छ।
सुरक्षाकर्मीले सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी गर्दा पनि हालसम्म केही फेला पार्न नसकेको जनाइएको छ। अडिट सुरुङबाट थप मेसिन तथा उपकरण आयोजनास्थलसम्म लैजान सकिन्छ कि भन्नेबारे पनि प्रयास भइरहेको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ बाट १९१ जना सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १४१ जना, प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका २१ जना, कर्मचारीका परिवारका ७ जना, चिलिमे इन्जिनियरिङका १२ जना, एक सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयमा इन्टर्नसिपका लागि गएका इन्जिनियरिङका ३ जना विद्यार्थी छन्। सुरुङमा कार्यरत २३ जना भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।
माथिल्लो त्रिशूली–३ ‘ए’ बाट दुई जनाको उद्धार
यसैबीच, बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली-३ ‘ए’ को विद्युतगृहमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ। निरन्तरको प्रयासपछि २१६ घण्टापछि सप्तरी कोइलाडी-८ का सञ्जय साह र काठमाडौं बालकुमारीका कबिर महर्जनको उद्धार गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विद्युतगृहमा फसेका अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
अन्य आयोजनामा पनि खोजी जारी
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सम्पर्कविहीन ४१ जनामध्ये बिहीबार दुई जनाको शव फेला परेको थियो। शुक्रबार नेपाली सेनाले सुरुङभित्र प्रवेश गरेर थप खोजी गरेको छ। आयोजनाबाट १९ जनाको उद्धार भइसकेको छ भने ३९ जनाको अवस्था अझै अज्ञात रहेको जनाइएको छ।
त्यस्तै, भूमिगत विद्युतगृहमा ६ जना फसेको चिलिमे जलविद्युत आयोजनाबाट पनि उनीहरूको उद्धार हुन सकेको छैन। मैलुङखोला जलविद्युत आयोजनामा कार्यरत ७ जना अझै सम्पर्कविहीन छन्।
निर्माणाधीन रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट पनि ४ जना सम्पर्कविहीन रहेको इपानले जनाएको छ। निरन्तर वर्षा, नदीमा बढ्दो पानीको सतह र सडक तथा भौतिक संरचनामा भएको क्षतिका कारण प्रभावित आयोजनाहरूमा खोजी तथा उद्धार कार्यमा थप चुनौती देखिएको छ।



