कायरा ट्रेडर्सका सञ्चालक किशोर गौतमद्वारा विपद् प्रभावित क्षेत्रमा खटिएका स्काउट स्वयंसेवकलाई सहयोग

काठमाडौं – बाढीपहिरोलगायत विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा परिचालित नेपाल स्काउटका स्वयंसेवकलाई कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले रबर बुट र पञ्जा सहयोग गरिएको छ । कायरा ट्रेडर्सका सञ्चालक तथा नेपाल व्यापार संघका उपाध्यक्षसमेत रहेका स्काउट लिडर किशोर कुमार गौतमले कायरा ट्रेडर्सको तर्फबाट ६४ जोर रबर बुट र ६६ जोर पञ्जा सहयोग गरेका हुन् । विपद्को समयमा जोखिमपूर्ण स्थानमा खटिएर खोज, उद्धार तथा राहतमा सक्रिय स्काउट स्वयंसेवकहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त सामग्री लैनचोरस्थित नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा उपलब्ध गराइएको हो ।

गौतमले उक्त सामग्री नेपाल स्काउटका प्रमुख आयुक्त सन्तोष कुमार थापा र निर्देशक अर्पण कार्कीलाई सामूहिक रूपमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा विपद् प्रभावित क्षेत्रमा परिचालित स्काउट स्वयंसेवकहरूलाई आवश्यक सुरक्षा सामग्रीको अभाव हुन नदिन सहयोग गरिएको जनाइएको छ । बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार र राहतका क्रममा पानी, हिलो तथा जोखिमयुक्त स्थानमा प्रवेश गर्नुपर्ने भएकाले रबर बुट र पञ्जा स्वयंसेवकका लागि अत्यावश्यक सामग्रीका रूपमा प्रयोग हुँदै आएका छन् । स्वयंसेवकहरूलाई सुरक्षित रूपमा परिचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको गौतमले बताउनुभयो  ।

स्काउट लिडरसमेत रहेका गौतमले विपद्को समयमा स्वयंसेवकहरू अग्रपंक्तिमा खटिएर नागरिकको उद्धार, राहत वितरण तथा अन्य मानवीय सेवामा सक्रिय रहने भएकाले उनीहरूको सुरक्षा र कार्य सहजताका लागि आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले विपद्को समयमा राज्यका निकायसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कायरा ट्रेडर्सका सञ्चालक गौतमले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सामग्री हस्तान्तरण गर्दै उहाँले विपद्मा खटिएका स्काउट स्वयंसेवकहरूको मनोबल उच्च राख्न सानो सहयोग भए पनि त्यसले उनीहरूको कार्यमा प्रत्यक्ष सहजता पुग्ने विश्वास व्यक्त गरेका छन् । कायरा ट्रेडर्सका सञ्चालक किशोर कुमार गौतम नेपाल व्यापार संघ उपाध्यक्षसँगै रेडक्रस सोसाइटीको आजीवन सदस्य तथा लायन्स क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्