काठमाडौं – अमेरिकाले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सहायता घोषणा गर्दै विपद्को कठिन समयमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो।
अमेरिकी सहयोगअन्तर्गत बाढी प्रभावित १० हजारसम्म घरपरिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न सहायता उपलब्ध गराइनेछ। विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन यो सहयोग केन्द्रित हुनेछ। अमेरिकी विदेश मन्त्रालयले नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेको जनाएको छ। नेपाल र चीनमा रहेका अमेरिकी दूतावास तथा सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था बुझ्ने र आवश्यक सहयोग तथा विपद् प्रतिकार्यमा समन्वय गरिरहेको जनाइएको छ।
यसअघि अमेरिकाले बाढी प्रभावित समुदायका लागि ५ लाख डलर बराबरको प्रारम्भिक सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त सहयोग आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतामा प्रयोग गर्ने गरी घोषणा गरिएको थियो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालमा ठूलो मानवीय संकट सिर्जना भएको छ। उद्धार तथा खोजी कार्य जारी रहँदा ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। सरकारले समेत प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।
अमेरिकी सहयोगसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रहरूले पनि नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता बढाउँदै लगेका छन्। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले समेत प्रभावित समुदायमा प्रारम्भिक खाद्यान्न सहायता र राहत व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ।



