रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौं, भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विभिन्न जिल्लामा गरी ९५ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, गोरखामा १६, चितवनमा ३३, तनहुँमा ५ र पूर्वी नवलपरासीमा १४ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये महिला, पुरुष, बालबालिका तथा पहिचान नखुलेका शवसमेत रहेका छन्।

बाढीमा परी घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा १ जना उपचाररत छन्।

यसैबीच बाढी प्रभावित क्षेत्रमा परिचालित २८ जना प्रहरीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट १ र हाकुबाट १ जना प्रहरी सम्पर्कविहीन छन्।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्