काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार विभिन्न जिल्लामा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका शव फेला परेका छन्।
प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, गोरखामा १६, चितवनमा ३३, तनहुँमा ५ र नवलपरासी पूर्वमा १४ जनाको शव फेला परेको विवरण छ। विभिन्न स्थानमा फेला परेका शवको पहिचान तथा संख्या यकिन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
६३ जना उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा १ जना उपचाररत छन्।
यसैबीच बाढी प्रभावित क्षेत्रबाट केही प्रहरीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट केही, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट १ र हाकुबाट २ जना प्रहरी सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने खोज तथा उद्धार कार्य जारी रहेको छ।




