पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्‍याउन गृहमन्त्री गुरुङको आग्रह

तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई पार्टीभित्रका असन्तुष्टि संसद्मा नपुर्‍याउन आग्रह गरेका छन्। रास्वपा संसदीय दलको बुधबार बसेको बैठकमा गृहमन्त्री गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा प्रस्तुत गर्दा विपक्षी दलहरू बलियो हुने भन्दै सांसदहरूलाई सरकारको विरोध नगर्न आग्रह गरेका हुन्।

बैठकमा सहभागी एक सांसदका अनुसार गृहमन्त्री गुरुङले सरकारले गरेका कामको समर्थन गर्न सांसदहरूलाई आग्रह गरेका थिए। उनले पार्टीभित्रका समस्या र असन्तुष्टि पार्टीभित्रै समाधान गर्नुपर्ने धारणा राखेका थिए। ‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो,’ गृहमन्त्री गुरुङले बैठकमा भनेका थिए।

गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए आफूलाई नभई स्वकीय सचिव जेम्स कार्कीमार्फत राख्न पनि सांसदहरूलाई आग्रह गरेका छन्। उनले सांसदहरूलाई स्वकीय सचिव कार्कीको नयाँ सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए। रास्वपा सभापति रवि लामिछानेले बुधबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका थिए। रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठकमा उपस्थित भएनन्।

बैठकको नेतृत्व पार्टी सभापति लामिछानेले गरिरहेका छन् भने सरकारमा रहेका अधिकांश मन्त्री बैठकमा सहभागी भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्